मन्थली, मंसिर १ - रामेछापको खिम्तिस्थित तामाकोसी जनजागृति उच्च माविका छात्राहरूमा देखिएको अज्ञात रोग अझै नियन्त्रणमा आएको छैन ।
तीन महिनाअघि छात्रामा देखिएको उक्त रोगबाट १२ देखि १५ वर्षका छात्रा बढी प्रभावित छन् । हाल पनि विद्यालयमा पुगेका केही छात्रा उक्त रोगबाट बिरामी पर्ने क्रम रोकिएको छैन ।
सुरुमा दैनिक तीन दर्जन छात्रामा देखिएको उक्त रोग हाल दैनिक १/२ जनामा देखिने गरेको छ । उक्त रोगबाट विद्यालयका प्रअ पवनराज पौडेलसमेत यसअघि बिरामी परेका थिए ।
एकै छिनमा बेहोस हुने र सास फेर्न गाह्रो हुने लक्षण भएको उक्त रोग लागेपछि छात्रालाई अरू छात्राले उद्धार गरी घर लाने गरेका छन् । नजिकै स्वास्थ्य केन्द्र भए पनि उक्त रोग उनीहरू डाक्टरलाई देखाउँदैनन् ।
कान्तिपुर