तीन सयभन्दा बढी जनसेना बिरामी
भदौ ८ गते । नेकपा -माओवादी जनमुक्ति सेनाका प्रथम डिभिजन मुख्यालयका तीन सयभन्दा बढी जनसेना बिरामी भएका छन् ।
प्रथम डिभिजन मुख्यालयको मुख्य शिविर इलामको चुलाचुलीका जनसेना उचित बासस्थान र दूषित खानेपानीका कारण जन्डिस, झाडापखाला, ज्वरो र टाइफाइडका बिरामी भएको डिभिजनका सहायक कमान्डर पावेलले बताउनुभयो ।
यसअघि पनि सो शिविरका अधिकांश जनसेना जन्डिस, झाडापखाला, ज्वरो र टाइफाइडले ग्रसित भएकोमा उपचारपछि सञ्चो भए पनि अहिले सो शिविरका तीन सयभन्दा बढी जनसेना बिरामी नै रहेको पावेलले जानकारी दिनुभयो ।
बिरामी जनसेनालाई शिविरमै प्राथमिक उपचार गरी थप उपचारका लागि कोसी अञ्चल अस्पताल विराटनगर र बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरान पठाउने गरिएको छ ।
सरकारले जनसेनाको उचित व्यवस्थापनका लागि आवास भवन निर्माणकार्य गरे पनि अझैसम्म पर्ूण्ा रूपमा आवास भवनको निर्माण पूरा नहुँदा बस्नयोग्य स्थान हुन नसकेका कारण पनि जनसेना पटकपटक बिरामी हुने गरेको पावेलको ठहर छ ।
यसैबीच प्रथम डिभिजनअर्न्तर्गत इलामको सहायक शिविर दानाबारी, मोरङको टाँडी र याङ्शिलाका जनसेनासमेत बिरामी परेका छन् । मोरङको याङ्शिलाका जनसेनालाई मलेरियाको प्रकोप देखा परेको शिविरका स्वास्थ्य सहायक धु्रवले जानकारी दिनुभयो । स्वास्थ्य सहायक ध्रुवका अनुसार बिरामी जनसेनामध्ये कतिपय उपचारपछि सञ्चो भएका छन् भने कतिपय उपचारका क्रममा छन् ।
यस्तै प्रदूषित खानेपानीका कारण सहायक शिविर टाँडीका जनसेनामा पनि छालाको रोग देखा परेको छ । सो शिविरका जनसेनामा चिलाउने र छालामा टाटा देखिने रोग देखा परेको छ ।