भारतीय अस्पतालमा नेपाली 'बन्धक’
उपेन्द्र पोखरेल
काँकडभिट्टा, भदौ ८ - भारतको सिलिगुडीस्थित अस्पतालमा उपचार खर्च तिर्न नसकेपछि एक नेपाली एक महिनादेखि बन्धक रहेका छन् । दुई महिनाअघि चिठ्ठा विवादमा भएको बिर्तामोडमा भएको हुलदंगामा घाइते अनारमनी- १ का विकास केवट -२१ बर्ष) अस्पतालमा बन्धक बनाइएका हुन् ।
गत असार २ गते प्रहरीले चलाएको गोली लागी केवट घाइते भएका थिए । उनी यातायात मजदुर हुन् । बायाँ कञ्चटमा गोली लागेका उनलाई धरान अस्पतालले रिफर गरेपछि असार ३ गते सिलिगुडीस्थित डा. च्याङको नर्सिङ होम पुर्*याइएको थियो ।
अस्पतालले डिस्चार्ज गरेको शनिवार एक महिना १० दिन भएको छ । स्वतन्त्र मजदुर संघका ट्याक्सी इकाई अध्यक्ष एनविन्द्र खत्रीका अनुसार उनलाई अस्पतालको एक कुनामा वेवारिसेजस्र्त राखिएको छ । उनलाई दिनहु डाक्टर आएर हप्काउनेलगायका दुव्र्यवहार गरिरहेका छन् । उनको उपचारसमेत बन्द गरिएको छ । उनी बायाँ भाग नचल्ने समस्याबाट पीडित छन् । खत्रीका अनुसार प्रशासनले बिर्तामोड प्रहरीमार्फत् उपचार खर्च भनेर परिवारलाई १ लाख २२ हजार रुपैयाँ दिएको थियो । सबै रकम नर्सिङ होममा बुझाई सकिएको छ । शनिवारसम्ममा अस्पतालको शुल्क थप भारतीय रुपैयाँ एक लाख ८० हजार पुगिसकेको छ । डिस्चार्ज भएको मितिसम्म भारतीय रुपैयाँ एक लाख मात्र अस्पताललाई तिर्न बाँकी थियो । डिस्चार्ज यता दैनिक दुई हजार भारतीय रुपैयाँ शुल्क तिर्नु परिरहेको छ । प्रमुख जिल्ला अधिकारी जयमुकुन्द खनालले स्रोत नभएको कारण थप रकम दिन नसकिएको बताए । थप उपचार खर्च दिन प्रशासन र आठ राजनीतिक दलले पहल नगरेको आरोप मजदुर संगठनहरुले लगाएका छन् । शनिवार बसेको मजदुर संगठनहरुको बैठकले केवटलाई तत्काल छुटाएर ल्याउन प्रशासन र जिल्लाका आठ राजनीतिक दलको ध्यानाकर्षण गराएको छ । ट्रेड यूनियन कांग्रेसका जिल्ला अध्यक्ष दीपक तामाङका अनुसार तत्काल छुटाएर नल्याए चरणवद्ध आन्दोलनमा उत्रने निर्णय बैठकले गरेको छ ।