| स्वास्थ्यकर्मीबाटै बिरामीहरू पीडित -
04-08-2007, 10:57 PM
दमक, साउन १९ - विराटनगर र काठमाडौंबाट यहाँका मेडिकलहरूमा बिरामी जाँच्न आउने चिकित्सकहरूले समयको ख्याल नगर्दा बिरामी डाक्टरबाटै पीडित हुने गरेका छन् । यहाँका हरेकजसो मेडिकलमा शनिबार २ देखि ६ जनासम्म डाक्टर आउने गर्छन् । डाक्टर आउने समयभन्दा अघि नै बिरामी आइपुगे पनि डाक्टरचाहिँ डेढ घन्टा ढिलो आउनाले बिरामी र कुरुवा समस्यामा पर्ने गरेका हुन् ।
मेडिकल सञ्चालकले बिरामीलाई आफूतिर तान्नका लागि निर्धारित समयभन्दा एक घन्टा चाँडो डाक्टर आउने आश्वासन दिन्छन् । तर डाक्टरचाहिँ तोकेको समयभन्दा एक घन्टा ढिलो आउने हुनाले बिरामी लामो कुराइमा पर्छन् ।
सानिमालाई उपचारका लागि लिएर आएका झिलझिलेका नारायण सुवेदी समयमा डाक्टर नआउँदा कुरुवासमेत बिरामी हुने बताउँछन् । डाक्टर पर्खेर बस्दाबस्दै पट्यार लाग्छ द मेडिकोमा बिहान ८ बजे आउने भनिएका डाक्टर मुकुन्द दाहाललाई पर्खेर बसेका सुवेदीले भने- 'डाक्टर समय ख्याल नगनर्ु बिरामीप्रतिको बेवास्ता हो ।' ८ बजेदेखि बिरामी पर्खाएका डा. दाहाल पौने ९ बजेमात्र क्लिनिक छिरेका हुन् ।
नाक-कान-घाँटीका डाक्टर विष्णुप्रसाद शर्माले बिहान ८ बजेदेखि अस्मिता फार्मेसीमा बिरामी जाँच्ने भनेर बोर्ड टाँगिएको छ । तर शनिबार साढे ९ बजेसम्म उनी दमक छिरेका थिएनन् ।
डाक्टरलाई पर्खेर बिहान ७ बजेदेखि नै बसेका बिरामीलाई फार्मेसीका सञ्चालक जिन्टा शाह आइहाल्नुहुन्छ भन्दै सान्त्वना दिइरहेका थिए । डाक्टर शर्मालाई बिहान साढे ७ बजेदेखि पर्खेर बसेका लखनपुर-१ का छत्र कुमाल भन्छन्- 'नढाँटीकन आफू आउने समय भनिदिए त्यही समयमा हामी आउथ्यौं नि । डाक्टर कुनै वहानामा हामीलाई किन घन्टौं कुराउनु ।'
८ बजेदेखि ११ बजेसम्म अस्मिता फार्मेसीमा समय दिएका डाक्टर शर्माले १० बजेदेखि अर्को मेडिकल दमक फार्मेसीमा बिरामी जाँच्ने सूचना टाँसिएको छ । एउटै समयमा दुई क्लिनिकमा कसरी बिरामी जाँच्छन् त ? दमक फार्मेसीमा औषधि बेच्ने एकले भने- 'डाक्टरले समय त मिलाइहाल्नुहुन्छ नि ।'उनी पनि डाक्टर शर्मालाई पर्खिरहेका बिरामीलाई डाक्टर तुरुन्त आउने आश्वासन दिइरहेका थिए । नाकको उपचार गर्न दमक आएका गौरादह गाविस सचिव गोविन्द खडा शनिबार घरैबाट मेडिकल धाए ।
'एउटामा कुरा आउँदैन अर्कोमा गयो तेस्तै,' डाक्टर पर्खंदा पर्खंदा वाक्क भएका खडाले भने- 'क्लिनिकमा उपचार छिटो र राम्रो हुन्छ भनेर आयो यस्तो हालत छ ।'
कतिपय डाक्टर बिरामी कुराएर आउँदै आउँदैनन् । कतिपयले बिरामीको नाम लेखिसकेपछि विराटनगरबाट आउन नसक्ने जानकारी दिएर बिरामीलाई अलपत्र पार्छन् । अस्मिता फार्मेसीमा शनिबार आउने हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. प्रदीप गुप्ताले आफू आउन नसक्ने जानकारी दिए । उनले आफूकहाँ आउने बिरामीलाई सीधैं विराटनगर पठाइदिने खबर फार्मेसीमा छोडेका थिए । फार्मेसीका शाह भन्छन्- 'विराटनगर गए निःशुल्क जाँच हुन्छ ।' |