| स्वास्थ्य केन्द्रहरूमा ४१ प्राविधिक खाल& -
24-07-2007, 01:29 AM
लमजुङ, साउन ७ - ग्रामीण भेगका स्वास्थ्य केन्द्रमा कार्यरत ४१ प्राविधिक पद विगत एक वर्षदेखि रिक्त छन् । रिक्त पदमा मेडिकल अफिसर, नर्स र ग्रामीण स्वास्थ्य कार्यकर्ताका पद खाली छन् ।
जिल्लामा रहेका दुईमात्र प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रेश्वर र गौंडामा मेडिकल अफिसरको पद रिक्त रहेको डेढ वर्ष बढी भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै अन्य स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीमा नर्स, मेडिकल सहायक र ग्रामीण स्वास्थ्य कार्यकर्ता गरी ३९ दरबन्दी रिक्त छन् ।
जिल्लाभर २ सय २३ प्राविधिक स्वास्थ्यकर्मीको दरबन्दी हुनुपर्नेमा हाल १ सय ८२ जनामात्र छन् । स्वास्थ्य केन्द्रहरूमा स्वास्थ्यकर्मी नहुँदा स्थानीयले समस्या भोग्नुपरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जीवनकुमार मल्लले बताए । नियुक्तिको माग गर्दै स्थानीयवासी पटकपटक जिल्लामा आए पनि स्वास्थ्य विभाग र क्षेत्रीय कार्यालयले पदपूर्तिका लागि माग नगरेकाले समस्या भएको प्रमुख मल्लले बताए । पहल हुँदै आए पनि सुनुवाइ नभएको उनको भनाइ छ ।
स्वास्थ्यकर्मीलाई सरुवा गराइरहने नीतिले गर्दा पनि यो समस्या बढी देखिएको उनले बताए । लमजुङमा हाल प्राथमिक स्वास्थ्य केन्द्र २, स्वास्थ्य चौकी ८ र उपस्वास्थ्य चौकी ५० छन् । |