कान्तिपुर संवाददाता
हृदयघातका बिरामीमा 'शत प्रतिशत सफलता'
काठमाडौं, साउन ५ - नर्भिक हस्पिटलले हृदयघात बिरामीका आकस्मिक सेवामा शतप्रतिशत सफलता पाएको दाबी गरेको छ ।
अस्पतालद्वारा शनिबार आयोजित गोष्ठीमा उक्त दाबी गरिएको हो । अस्पतालका अनुसार हालसम्म १६ हृदयघातका बिरामी भर्ना भएकामा सबैलाई एन्जियोप्लास्टी विधिबाट उपचार गरिएको थियो । 'सबै सफल भए,' अस्पतालका कार्यकारी निर्देशक डा. भरत रावतले भने- 'सबैजना अहिले सक्रिय जीवन बिताइरहेका छन् ।' हृदयघात भएका बिरामीलाई तत्कालै गरिने उपचार पद्धतिलाई एन्जियोप्लास्टी भनिन्छ । यो विधिअन्तर्गत अस्पताल पुर्*याइएको ९० मिनेटभित्रै उपचार गरिन्छ ।
राजधानीमा आकस्मिक एन्जियोप्लास्टीको सुविधा नर्भिक र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मात्र उपलब्ध छ ।
जन्डिसको कारण पत्ता लागेन
हेटौंडा, साउन ५ - रोगीको रगत परीक्षण गर्दा पनि चिकित्सकले यहाँ फैलिएको जन्डिसको कारण पत्ता लगाउन सकेका छैनन् ।
राक्सिराङ गाविस-८ ठाडोचुरीमा जन्डिसको कारण पत्ता लाग्न नसकेको हो ।
रगत परीक्ष्ाण गर्दा कारण थाहा हुन नसकेको हेटौंडा अस्पतालका चिकित्सकले बताए । महेन्द्र राजमार्गस्थित मनहरी बजारबाट तीन घन्टा पैदल हिँडेर पुगिने ठाडोचुरीको चेपाङ बस्तीमा १० दिनदेखि जन्डिसको प्रकोप देखापरेको थियो । जन्डिसका कारण तीन महिलाको मृत्यु र २० जनाभन्दा बढी प्रभावित छन् ।
एड्सबाट मृत्यु
दार्चुला, साउन ५ - एड्सबाट दार्चुलामा एक व्यक्तिको मृत्यु भएको छ । डाँडाकोट-८ का ४५ वषर्ीय सुन्दरराम पार्कीको बिहीबार मृत्यु भएको हो ।
यसअघि पार्कीका दुई श्रीमतीको एड्सबाटै मृत्यु भएको थियो । जेठी श्रीमतीको दुई वर्ष र कान्छी श्रीमतीको एक वर्षअघि मृत्यु भएको थियो ।
भारतीय अस्पतालमा परीक्षण गराउँदा सुन्दररामलाई दुई वर्षअघि एचआईभी लागेको थाहा भएको थियो ।
उनका दुई छोरा र एक छोरी छन् । उनीहरूलाई आफन्तले संरक्षण गरेको स्थानीयले बताएका छन् ।
यहाँका एचआईभी परीक्षणको सुविधा नभएकाले प्रभावित कसैको पनि रेकर्ड छैन । 'परीक्षण गर्ने साधन भए पो रेकर्ड राख्न सकिन्छ,' जिल्ला अस्पत्रालका अहेव वीरहरि राईले भने- 'परीक्षण गराउन त आउँछन् तर साधन छैन, फर्काइदिन्छौं ।'
कालाज्वरबाट एक युवकको मृत्यु
रासस
अर्घाखाँची, साउन ५ - कालाज्वरबाट जिल्ला अस्पताल सन्धिखर्कमा शनिबार एक युवकको मृत्यु भएको छ ।
पश्चिम ढाकावाङ-४ निवासी २८ वषर्ीय ऋषिराम खनालको उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक खनाललाई शुक्रबार बिहान उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो ।
जिल्लामा वषर्ासँगै बिरामी बढेका छन् । अस्पताल सूत्रका अनुसार बिरामी भएर अस्पताल आउनेमध्ये ज्वरो, झाडापखाला, जन्डिस, टाइफाइडका बिरामी दैनिक बढिरहेका छन् । चिकित्सक राजेन्द्र बीसीले दिएको जानकारी अनुसार मौसम परिवर्तन र दूषित पानीका कारण रोग देखा परेका हुन्् । बिरामी बढेपछि शय््याको अभावका कारण भुइामा राखी उपचार गर्नु परिरहेको बताइएको छ ।

