इन्सेफ्लाइटिसविरुद्ध साढे तीन लाखलाई खोप
विराटनगर, साउन २ - जापनिज इन्सेफ्लाइटीसको प्रकोप नियन्त्रण गर्न जनस्वास्थ्य कार्यालयले मोरङमा निःशुल्क खोप अभियान सुरु गरेको छ । एक वर्षदेखि १५ वर्षमुनिका ३ लाख ५७ हजार ५६ जनालाई इन्सेफ्लाइटिसविरुद्धको खोप दुई साताभित्रमा लगाइसकिने कार्यालयले जनाएको छ ।
तराईमा गर्मी मौसममा फैलने इन्सेफ्लाइटिसको प्रकोपले बर्सेनि सयौंको ज्यान जाने गरेकाले रोकथामका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत प्राप्त भएको भ्याक्सिन पहिलोपटक पूर्वाञ्चलको मोरङ र सुनसरीमा लगाउन थालिएको हो । मोरङमा दुई चरणमा यो खोप सञ्चालन गरिँदै छ । पहिलो चरणमा विराटनगर उपमहानगर पालिकाका सबै वडाहरू र दक्षिणी क्ष्ाेत्रका २४ गाविसमा असार ३० देखि सञ्चालित अभियान साउन ८ सम्म सञ्चालन हुनेछ । जिल्लाका ४४ उत्तरी गाविसमा साउन ७ बाट खोप अभियान सञ्चालन गरिने जिल्ला जनस्वास्थ्य अधिकृत भानु याङदेनले कान्तिपुरलाई बताए ।
विराटनगर क्ष्ाेत्रमा ७० हजार ३ सय ३० र गाविसमा २ लाख ८६ हजार सात सय २६ बालबालिकालाई दुई साताभित्रमा खोप लगाइसकिने लक्ष्य जनस्वास्थ्यले लिएको छ । छाला र मासुको बीचमा भ्याक्सिन लगाउनुपर्ने र एकपटक लगाई सकेपछि जीवनभर त्यसले काम गर्ने बताइएको छ । जिल्ला जनस्वास्थ्यले खोपको ९९ प्रतिशत प्रभावकारीरहेको दाबी गरेको छ ।
गत वर्ष मोरङमा २८ इन्सेफ्लाइटिसका बिरामी फेला परेका थिए । जुन अघिल्लो वर्षको तुलनामा वृद्धि भएको थियो । प्रत्येक वर्ष इन्सेफ्लाइटिसका बिरामी बढ्न थालेपछि खोप सञ्चालन गरिएको हो ।

