१२ सय ६३ लाई उपचार सहयोग
काठमाडौं, असार ३० - स्वास्थ्य मन्त्रालयले उपचारका लागि निवेदन दिएका बिरामीलाई अधिकतम ७० हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर सिंहका अनुसार यस वर्ष १ हजार २ सय ६३ जनाले आर्थिक सहयोग पाउने भएका हुन् । मेडिकल वोर्ड र चिकित्सा सेवा महाशाखा अन्तर्गतका समितिले सिफारिस गरेको निवेदकलाई आर्थिक सहयोग दिन लागिएको हो । मन्त्रालयले यसअघि पनि सहयोग गर्दै आएको हो । यसअघि सरकारको निर्णयअनुसार बिरामीले उपचार गराउने अस्पताललाई रकम दिने गथ्र्याे । यसपालि मन्त्रालयमै बिरामीलाई रकम दिइनेछ । सहयोग रकम मन्त्रालयले असार मसान्तभित्र वितरण गरिसक्नुपर्नेछ । मन्त्रालयमा आर्थिक सहयोगका लागि १ हजार ४ सय निवेदन आए पनि मेडिकल बोर्ड र समितिले १ हजार २ सय ६३ जनाको छनोट गरेको हो । रोग उपचार अन्तर्गत मुटुका लागि २ सय १० निवेदकको छनोट गरिएको छ ।
मन्त्रालयका केही कर्मचारीले 'सहयोगको नाममा खेल' भइरहेको आरोप लगाएका छन् । उनीहरूले असार मसान्तभित्रै रकम वितरण गरिसक्नुपर्ने बाध्यता देखाउँदै दुरुपयोग भइरहेको दाबी गरेका छन् ।

