| बाँदरको डीएनए !!!!!! -
29-06-2007, 12:25 PM
काठमाडौं, असार १४ - नेपाल बायोमेडिकल रिसर्च सेन्टरले बाँदरको डीनएनए -डिराइबो न्युक्लिक एसिड) परीक्षणका लागि सरकारसँग अनुमति मागेको छ । सेन्टरले औषधिजन्य अनुसन्धानका लागि रातो बाँदरको रगत अमेरिका लैजान राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा निवेदन दिएको हो । सेन्टरका प्रबन्ध निर्देशक प्रवेशमान श्रेष्ठले फार्मिङबाट बाँदरको संख्या बढेकाले उनीहरूको उत्पत्ति थलो, उपजाति र बाँदरमा पाइने विभिन्न किसिमका भाइरस पत्ता लगाउन परीक्षणको प्रक्रिया सुरु गरेको जानकारी दिए ।
'यहाँ यो सुविधा नभएकाले अमेरिका पठाउने पहल गरेका हौं,' उनले भने- 'परीक्षणको परिणाम आएपछि मात्र औषधिजन्य अनुसन्धान सुरु हुन्छ ।' सेन्टरले अमेरिकाको साउथइस्ट फाउन्डेसन रिसर्च सेन्टरमा लगेर परीक्षण गराउने अनुमति मागिएको छ ।
सेन्टरले ललितपुरको लेले गाविस-८ गैरीगाउँमा करिब तीन करोड रुपैयाँको लगानीमा बाँदर फार्मिङ गरिरहेको छ । बीउ प्राणीस्वरूप सरकारले प्रतिबाँदर २५ हजार रु पैयाँ राजस्व लिएर १०० वटा बाँदरको अनुमति दिएको
थियो । सेन्टरमा ९९ सय बाँदर
छन् । तिनबाट ४३ वटा बच्चा जन्मिएका छन् । ती बाँदरलाई औषधिजन्य अनुसन्धानमा प्रयोग गर्न परीक्षणको तयारी गरिएको हो ।
बाँदर विज्ञ डा. मुकेश चालिसेले बाँदरमा के-कस्ता कीटाणु छन् भन्ने पत्ता लगाउन डीएनए परीक्षण आवश्यक हुने बताए । 'मानिसमा लाग्ने रोगका कीटाणु र बाँदरको शरीरमा हुने कीटाणु मिल्दाजुल्दा हुन्छन्,' उनले भने ।
डा. चालिसेका अनुसार बाँदरमा मानिसलाई लाग्ने एचआईभीजस्तै एसआईभी, हर्पिस 'बी,' जन्डिस, मलेरिया र छालाजन्य रोगका कीटाणु हुन्छन् । 'परीक्षणबाट ती पत्ता लागे भने त्यहीअनुसारको औषधि तयार गरेर बाँदरमा परीक्षण गरिन्छ,' उनले भने- 'परीक्षणपछि औषधिको प्रभाव थाहा हुन्छ र नयाँ औषधि वा खोप पत्ता लाग्न सक्छ ।' तर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक शेषहरि भट्टराई भने मुलुकबाहिर परीक्षण गर्न नमिल्ने बताउँछन् । 'ऐन कानुनमा दिन मिल्ने कुनै व्यवस्था छैन,' उनले भने- 'कानुनी व्यवस्थाका लागि प्रक्रिया सुरु भएको छ । त्यसपछि मात्र दिन मिल्छ ।' तर उपमहानिर्देशकको संयोजकत्वमा रहेको समितिले भने अनुमति दिन सिफारिस गरेको छ । सरकारले वन्यजन्तु पालन, प्रजनन तथा अनुसन्धान कार्यनीति, २०६० अनुसार बाँदर फार्मिङ र अनुसन्धानको अनुमति दिएको हो । |