| मासुसँगै रोग किन्छन् उपभोक्ता !!!! -
27-06-2007, 12:08 PM
काठमाडौं, असार १२ - मासु कत्तिको खानुहुन्छ ? धेरै खानु हुन्छ भने होस गर्नुस् । राजधानीमा खुला रूपमा बिक्री हुने मासुले खतरनाक रोग निम्त्याउँदै छन् ।
यस्ता अस्वस्थ मासुबाट उपभोक्ताले के रोग त किनिरहेका छैनन् ? चिकित्सकहरू भन्छन्- 'मासुसँगै उपभोक्ताले अनेक थरीका रोग किनिरहेका छन् ।'
फोहोर ठाउँमा काटेको मासुमा पाइने कीटाणुको लेखाजोखा छैन । सडकका आसपासमा खुला रूपले राखेका मासुमा भन्किने झिँगाले मासुलाई हानिकारक बनाउने भन्ने सजिलै अनुमान गर्न सकिन्छ ।
पशुपन्छीलाई काट्नअघि जाँच नगर्ने परम्परा जोखिमपूर्ण देखिएको विशेषज्ञहरू बताउँछन् । ती मासुहरू पनि सडकका पेटीमा राखेर झिँगा भन्काउँदा र हावाबाट समेत थप संक्रमित हुने विज्ञहरू बताउँछन् ।
काटेदेखि खुला रूपमा बेचिने मासु झिँगा भन्किएपछि तुरुन्तै सड्ने र विषाणुयुक्त बन्ने चिकित्सकहरू बताउँछन् । 'शरीरलाई चाहिने तत्त्व मासुमा पाइन्छ, बिनापरीक्ष्ाण अव्यवस्थित रूपले बिक्री हुँदा त्यसबाट धेरै रोग निम्तिन सक्छन्,' पशु सेवा निर्देशनालयका निर्देशक डा. धनराज रतलाले भने । उनका अनुसार मासुबाट उलसटर, बु्रस्रोलोसिस, रेबिज, बर्डफ्लु र टेप बामलगायत १ सय २७ प्रकारका रोग लाग्न सक्छ, त्यसमा पनि सबैभन्दा खतरा वंशाणुगत रोगसमेत लाग्न सक्छ । जुन रोग लागे पछि तीन पुस्तासम्म पनि उपचार हुँदैन ।
एक त पानीको अभाव, त्यसमा पनि मासु प्रयोगशालामा परीक्ष्ाण नहुनु, मासु काट्ने मान्छेको स्वस्थ परीक्षण नहुनु, व्यवस्थित रूपमा मासु बिक्री नगर्नुको साथै मासु ओसारपसार गर्दा ध्यान नदिनाले ती रोगहरू लाग्न सक्ने सम्भावना बढ्ने चिकित्सकहरूले दिएका छन् । बिनासम्झौता भारतबाट अस्वस्थ राँगा-भैंसी र खसी-बोकाको कारोबार निरन्तर छ । उपभोक्ताबाट कहिल्यै दबाब नपर्नुले व्यापारीमा लापरबाही र राज्यको चासो नपुगेको डा. रतालले भने ।
ढलको नालाले नाक थुनेर पनि हिँड्न नसकिने विष्णुमती खोलाको दुर्गन्धित वातावरणमा बिहान राँगा-भैसी काटिन्छन् । सबैभन्दा धेरै राँगा काटिने त्यस क्ष्ाेत्रमा काटेपछि निस्कने लादी र हड्डीले चुलिएको छ । यसबाट निस्कने दूषित दुर्गन्धले गर्दा त्यस क्षेत्रलाई पूरै प्रदूषित बनाएको छ ।
दुर्गन्धमा रम्ने काग, झिँगा, किराफट्याङ्ग्रा झुम्मिदा मासुमा कीटाणुहरू सजिलै प्रवेश गर्छन् । ती क्ष्ाेत्रमा भारतमा जोतेर बूढा भइसकेका अस्वस्थ राँगाहरू रातारात ट्रकमा कोचिएर ल्याएर बिहानै मासुका लागि तयार बनाइने स्थानीयवासी बताउँछन् । त्यही मासु भुइँमा लतार्दै फोहोर गाडीमा खाँदेर ठाउँ ठाउँका पसल हुँदै होटल रेस्टुराँमा पुर्*याइन्छ । राँगा र भैंसीको मात्र होइन, भारतबाट ल्याउने खसीसँगै कुखुराको मासुको पनि उही हालत छ । चिकित्सकका अनुसार एन्टिबायोटिक औषधि खुवाएर हुर्काउने कुखुराको मासुले प्रत्यक्ष रूपमा शरीरलाई बेफाइदा पुर्*याउँछ ।
'मासु बेच्ने अनुमति दिने नगरपालिकाले उपभोक्तको हितमा मासुको गुणस्तर पनि नियाल्नुपर्छ,' पशु सेवा विभागअन्तर्गत पशुपन्छी बजार प्रवर्द्धक निर्देशक जुद्धबहादुर वज्राचार्यले भने- 'खुला रूपमा मासु बेच्ने व्यापारीको लापरबाहीले अहिले उपभोक्तको जीवन निकै कष्टकर हुँदै गएको छ ।'
महानगरपालिकाको जनस्वास्थ्य विभागका प्रमुख डा. बाबुराम गौतमले जनप्रतिनिधिविहीन स्थानीय निकायले यसबारेमा केही गर्न नसकेको स्वीकार गर्छन्् । 'सरकारले पास गरिसकेका मासु ऐन कडाइका साथ लागू गर्ने हो भने सुधार आउँछ,' उनी भन्छन् । उनका अनुसार उपभोक्ताले स्वस्थ मासु पाउन वधशाला प्रयोग गर्नुपर्छ, त्यसैका लागि सरकारले ठूलै रकम खर्च गरेर बनाएको ककनी र थानकोटमा पशु वधशाला बनाइदिएको छ । प्रक्रिया पुर्*याएर मासु बेच्नुपर्नेमा गौतम जोड दिन्छन् ।
मासु र यसको कारोबारलाई व्यवस्थित गर्न दशकअघि नियम बनेको थियो । ऐन कार्यान्वयनमा आएको छैन । ऐन-नियमलाई लागू गर्न उपभोक्ताले आवाज पनि उठाएका छैनन् । 'हामीले पहिलादेखि नै मासु यस्तै गरी खुला रूपमै बेच्दै आएका छौं तर पंखा र कपडाले भने छोप्ने गर्छौं,' नयाँ बानेश्वरस्थित मासु व्यापारी भीमलाल शाहीले भने ।
पशु वधशाला र मासु जाँच ऐन, २०५५ र नियमावली, २०५७ मा 'मासु भनेको मानिसले खान योग्य पशुको मासु' भनी उल्लेख ग्ारिएको छ । वध गरेको पशु ओसारपसारका लागि प्रयोग गरिने सवारीसाधन राखिने स्थान सफा र वधशालाभन्दा अलग निर्माण गरेको हुनुपर्ने तथा मासु निरीक्ष्ाकले राम्रो ठहरिएका मासुलाई टाँचा लगाएर मात्र बेच्ने अनुमति दिने, व्यापारीले छालासहितको मासु बिक्री गर्न नपाइने आदि ऐनमा उल्लेख छ । 'उपभोक्तबीच गम्भीर सचेतनाको अभाव, सेवा प्रदायिक व्यवसायीको गैरजिम्मेवारी कार्य र राज्यको ध्यान जान नसकेकाले मासु खाने उपभोक्तहरू मारमा परेका छन्,' उपभोक्त संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले भने- 'मासु व्यापारीहरूले व्यापारिक दृष्टिले बाहेक उपभोक्ताको हित र मासुको गुणस्तरमा कहिल्यै पनि ध्यान दिएको पाइएको छैन ।' |