पिप्रहवा -बाँके, कार्तिक १३ - राप्तीपारिका ६ गाउँमा फैलिएको अज्ञात रोगबाट दुई सातामा ३६ जनाको मृत्यु भएको छ । डेढ सयभन्दा बढी बिरामी छन् ।
मृत्यु र बिरामी संख्या बढदै गए पनि अहिलेसम्म चिकित्सक र औषधि त्यहाँ पुगेको छैन । सबैभन्दा बढी फत्तेपुर गाविसमा २३ जनाको मृत्यु भएको छ ।
वडा ४ र ५ मा पर्ने पिप्रहवामा ११, नगकैपुरमा ७, फत्तेपुरगाउँमा ३ र हर्दैवामा २ जनाको मृत्यु भएको स्थानीय नादिर खाँले बताए ।
त्यस्तै, गंगापुरमा १० जना, नरैनापुरमा २ जनाको गाउँमै मृत्यु भएको छ भने होलिया चौफेरीका एक जनाको आइतबार राति नेपालगन्जस्थित अस्पतालमा मृत्यु भएको छ ।
स्थानीय बासिन्दाका अनुसार सुरुमा ज्वरो आउने, जीउ दुख्ने, जाडोले जीउ काँप्ने र बेहोस हुने लक्षण देखिन्छ । रोग गंगापुर, फत्तेपुर र नरैनापुर गाविसका सोनवषर्ा, कर्दबेटुवा, फत्तेपुरगाउँ, पिप्रहवा, नगकैपुर, हर्दैवामा देखापरेको छ । यहाँ प्रत्येक घरमा बिरामी छन् ।
आर्थिक अवस्था राम्रो भएकाले उपचार गर्न नेपालगन्ज र भारत गए पनि धेरैजसो बिरामी गाउँमै छन् । 'उपचार गराउन नसक्दा मेरा छोरा र छोरी मरे,' फत्तेपुर-५ की फूलमती अहिरले कान्तिपुरसित भनिन्- 'तीन दिन व्यथाले थलिएँ । उपचार गर्न पैसा थिएन ।' उनकी १६ वषर्ीया छोरी कुस्मी र १३ वषर्ीय छोरा रामआशिषको शनिबार उक्त रोगबाट मृत्यु भएको हो ।
उनका ८, १० र १३ वर्षका तीन छोराछोरी गम्भीर बिरामी परेर सुतेका छन् । तर उपचारका लागि अस्पताल लैजान आर्थिक अभाव रहेको उनले बताइन् ।
हेल्थपोस्टमा औषधि अभाव र उपचार गर्न राप्ती तरेर नेपालगन्ज जानुपर्ने भएपछि गाउँकै औषधि पसलमा उपचार गराउनेहरूको भीड लाग्ने गरेको छ । 'दिनहुँ ३५/४० जना आउँछन् । उपचार गर्नै गाह्रो छ,' औषधि बिक्रेता नजिरअली शेषले अनुमानका भरमा आफूले जानेको औषधि र इन्जेक्सन दिइरहेको स्विकार्दै
भने- 'अर्को उपाय पनि छैन ।' उनले यो रोगलाई 'जाड-बुखार' नाम दिएर एन्टिबाइटिक औषधि दिइरहेका छन् ।
रोगबाट बालबालिका, वृद्ध-वृद्धा र महिलाहरू बढी प्रभावित छन् । जनस्वास्थ्य कार्यालयले रोग पत्ता लगाउन खटाएको मलेरिया 'इन्सपेक्टर' र ल्याब असिस्टेन्टको टोलीले बिरामीको रगत संकलन गरेको छ । औषधी र चिकित्सक पठाएको छैन । सोमबार १ सय ६० जनाको रगत संकलन गरिएको गंगापुर हेल्थपोस्ट इन्चार्ज नारायण शर्माले बताए ।
तर जनस्वास्थ्यले तिनै स्वास्थ्य सहायकलाई उद्धृत गर्दै दुई जनामा मलेरिया पोजेटिभ भेटिएको दाबी गरेको छ । 'पोजेटिभ भेटिएकालाई औषधि दिन सुरु गरिएको छ,' वरिष्ठ जनस्वास्थ्य अधिकृत जयबहादुर कार्कीले भने ।
'धेरैजसो लक्षण मलेरियासँग मिलेकाले अनुमानका भरमा गम्भीर बिरामीलाई औषधि सुरु गरेको उनले बताए ।
स्थानीय बासिन्दाले दुई महिनाअघिको बाढीले रोग फैलिएको अनुमान गरेका छन् । २५ वर्षअघि पनि गाउँ जलमग्न हुनेगरी आएको बाढीले यस्तै रोग फैलिएको पिप्रहवाका घसिटे धोबीले बताए । 'यो वर्ष पनि धेरै दिन गाउँ जलमग्न भयो,' उनले भने- 'रोग लाग्नुको कारण त्यही हुनुपर्छ ।'
कान्तिपुर