हेटौंडा, कार्तिक ८ - स्थानीयवासीलाई परिवार नियोजन गर्नेतर्फ आकषिर्त गर्ने उद्देश्यले ग्रामीण क्षेत्रको एक उपस्वास्थ्य चौकीले परिवार नियोजन गर्ने परिवारलाई सदाका लागि निःशुल्क औषधि दिने व्यवस्था गरेको छ ।
जनसंख्या वृद्धिदर घटाउने उद्देश्यले सुकौरा गाविस-४ स्थित उपस्वास्थ्यचौकीले एकमात्र सन्तानमा चित्त बुझाएर परिवार नियोजन गर्ने परिवारलाई निःशुल्क औषधि प्रदान गर्ने व्यवस्था गरेको हो ।
शैक्ष्ािकरूपले अत्यन्त पिछडिएका विकट गाविसका बासिन्दा औषधि निःशुल्क पाउने आशाले परिवार नियोजन गर्लान् भन्ने सोचले यो कार्यक्रम सञ्चालन गरेको उपस्वास्थ्यचौकीका अध्यक्ष्ा सुनबहादुर लामाले बताए ।
यो अभियान सञ्चालन गरेको एक महिना बित्न नपाउँदै एक सन्तानमै परिवार नियोजन गर्नेको संख्या एक दर्जन पुगिसकेको उनले भने । उपस्थास्थ्य चौकीले सामुदायिक औषधि पसल पनि सञ्चालन गरेको छ ।
उक्त पसलबाटै एक छोरा वा छोरीमा परिवार नियोजन गर्ने परिवारलाई जीवनभर निःशुल्क औषधि वितरण गर्ने व्यवस्था मिलाएको छ ।
एउटै सन्तानमा चित्त बुझाएर स्थायी बन्ध्याकरण गर्ने परिवारलाई निःशुल्क औषधिको सुविधा प्रदान गरेको जिल्लामै यो पहिलो हो । तामाङ जातिको बसोबास रहेको उक्त गाविसका प्रतिपरिवार सरदर ७ बालबालिका रहेका छन् ।
कान्तिपुर