बुटवल, असोज २९ - स्थानीय अस्पताल र क्लिनिकमा एचआइभी प्रभावितलाई दिइने औषधि एआरभी -एन्टी रेक्ट्रोल भाइरल) उपलब्ध नहुँदा पहिचान भएका एक सय पाँच एचआईभी संक्रमित सेवाबाट वञ्चित भएका छन् ।
सेवा स्थानीय रूपमा उपलब्ध नभएपछि नवकिरण प्लसले चन्दा संकलन गरी संक्रमितलाई उक्त सेवा प्रदान गरिरहेको छ । मासिक रूपमा आवश्यक रकम संकलन नभए उनीहरू सेवाबाटै वञ्चित हुने संस्थाले जनाएको छ ।
नवकिरण प्लस बुटवल शाखाले रुपन्देही र आसपासका जिल्लाका ग्रामीण क्षेत्रबाट सम्पर्कमा आएका संक्रमितलाई एआरभी सेवन गराउन नसक्दा उनीहरू सेवाबाट वञ्चित भएका हुन् ।
त्यस संस्थाका संयोजक दूतबहादुर थापाले यहाँ सेवा उपलब्ध नभएका कारण संक्रमितलाई संस्थाको लगानीमा राजधानीस्थित टेकु अस्पतालमा लगेर एआरभी सेवन गराउनुपरेको बताए ।
उनले कुल संक्रमितमध्ये ७० जना महिला मात्रै रहेको बताए ।
संस्थाको सम्पर्कमा आएका मध्ये ५ जना बालबालिका र बाँकी पुरुष छन् । यसले एक वर्षअगाडि रोकथाम र उपचारका लागि कार्यक्रम सुरु गरेपछि संक्रमितहरू स्वतस्फूर्त सेवा लिन आउन थालेका हुन् । अधिकांश पुरुषको मृत्यु भइसकेको र केही देशबाहिर रहेका कारण पनि महिला संक्रमित तथ्यांकमा धेरै देखिएको थापाले बताए ।
लुम्बिनी अञ्चल अस्पतालमा एआरभी सेवा सुरु गर्नुपर्ने माग लामो समयदेखि एचआईभी एड्सको क्षेत्रमा कार्यरत संघसंस्था र संक्रमितले गर्दै आएका छन् । 'गत महिना परिवार नियोजन संघले ९ हजार सहयोग गरेका कारण एआरभी सेवन गरायौं,' थापाले भने- 'यो महिना रकम नभएका कारण धेरै वञ्चित हुने भएका छन ।'
शुक्रबार आयोजित यससम्बन्धी एक कार्यक्रममा बोल्दै जिल्लामा कार्यरत संस्थाले संयुक्त लगानीमा भए पनि यो सेवा आरम्भ गनुपर्ने औंल्याए ।
यस जिल्लामा २२ वटा संघसंस्था यस क्षेत्रमा कार्यरत छन् ।
कान्तिपुर