स्याङ्जा, असोज २९ - एचआईभी/एड्स तथा प्रजनन स्वास्थ्य परामर्श केन्द्रले यहाँ ३० जनाको रक्त परीक्षण गर्दा ६ मा एचआईभी पोजेटिभ पाइएको छ । संक्रमित हुनेहरूमा १२ देखि ५० वर्षका छन् ।
यो तथ्यांकले जिल्लामा धेरैलाई एचआईभी पोजेटिभ भएको हुनसक्ने केन्द्रका कार्यक्रम अधिकृत पवन पौडेलले बताए । 'यो अनुपातले गम्भीर अवस्था देखाउँछ' उनले भने- 'संक्रमितहरू प्रशस्तै हुन सक्छन् ।'
संक्रमितहरूको नाम र ठेगाना गोप्य राखिनेे केन्द्रले जनाएको छ । 'संक्रमितहरूको नाम र ठेगाना यहींका कर्मचारीलाई समेत थाहा हुँदैन, त्यसका लागि परीक्षणको रिपोर्टमा कोड नम्बर प्रयोग गर्ने गरेका छौं' पौडेलले भने, 'संक्रमितहरूलाई समस्या नपरोस् भनेर यस्तो गरिएको हो ।'
संयुक्त राष्ट्र संघीय विकास -यूएनडीपी) र रेडक्रसको सहयोगमा असारदेखि केन्द्र स्थापना गरेर एचआईभी बारे परामर्श र परीक्षण सुरु गरिएको
हो । परामर्श गर्न आउने संख्या पहिलाको तुलनामा बढ्दै गएको छ । झन्डै १७० जनाले परीक्षणबारे परामर्श लिएको केन्द्रले जनाएको छ ।
कान्तिपुर