जलेश्वर -महोत्तरी, असोज २९ - लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोग भित्रिन नदिन प्रहरीले यहाँ लामखुट्टे नियन्त्रण तथा सजगता अभियान चलाएको छ ।
प्रहरीले नगर सफाइ तथा प्रचारात्मक गरी दुई चरणमा अभियान सञ्चालन गर्ने जनाएको छ । यसका लागि आइतबार जिल्ला प्रहरीमा सम्पन्न स्वास्थ्यकर्मी, नगरप्रमुख, विभिन्न गैरसरकारी कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी एवं नागरिक समाजका अगुवाको बैठकले अभियानलाई आ-आफ्नो क्षेत्रबाट सघाउने प्रतिबद्घता जाहेर गरेका छन् ।
जलेश्वरसँग जोडिएको दसगजापारिको गाउँलगायत सीतामढी जिल्लामा यसको रोगी फेला परेकाले जलेश्वरलगायत जिल्लाका दर्जन बढी सिमान्त गाविस डेंगीको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीले जनाएका छन् । दीपावली तथा छठ पर्वको अवसरमा कामका लागि भारतको विभिन्न सहर गएकाहरू अहिले घर र्फकने क्रम रहेकाले उनीहरूसँगै डेंगी भित्रिने जोखिम
उच्च भएको जनाउँदै प्रहरी उपरीक्षक रणबहादुर चन्दले समुदायको सहयोगमा प्रहरी अभियान सञ्चालनमा जुटेको बताए ।
डेंगी गाउँभन्दा बढी सहर केन्दि्रत समस्या रहेको बताउँदै जनस्वास्थ्य अधिकृत विजयकुमार झाले भने- 'यसबारे नगरक्षेत्र बढी सजग हुनुपर्छ ।' यस रोगको केन्द्रविन्दु भारतीय सहर भएकाले त्यहा डेंगी नियन्त्रण नहुन्जेल त्यसको जोखिम नेपालमा रही रहने झाले बताए ।
तर यस्ता पूर्व सतर्कता कार्यक्रम क्षणिक रहर वा केवल चर्चा पाउनका लागि नभई निरन्तर हुनुपर्ने नागरिक समाजका अगुवाहरूले आग्रह गरेका छन् । केही साताअघि नगर प्रवेश गरेको बाढीले थुपारेको फोहोर तथा ढल निकासको समुचित व्यवस्ता नभएकालेे जलेश्वर लामखुट्टे जनित रोगको जोखिममा पहिलेदेखि नै रही आएको छ ।
कान्तिपुर