| डेंगीको बेवास्ता -
15-10-2006, 12:42 PM
सीमावर्ती क्षेत्रमा डेंगीको उच्च जोखिम रहे पनि सरकार संवेदनशील हुन सकेको छैन । सरकारी निकाय तापक्रम घटेपछि आफंै यसको समस्या समाधान हुने मनस्थितिमा देखिन्छ । यस्तो सरकारी मनस्थिति पहिलोपटक देखिएको होइन । जनस्वास्थ्यका अनेक सवालमा सरकार र उसको संयन्त्र आम नेपाली जनतालाई भगवान् र भाग्यको भरोसामा छोड्ने प्रवृत्ति देखिएको छ ।
जापानी इन्सेफ्लाइटिस, कालाजार, हैजा, झाडापखाला, टाइफाइड, औलोलगायतका थुप्रै उदाहरण छन् । यसै क्रममा थपिएको छ डेंगी । डेंगी अर्थात् भाइरसले हुने तीव्र ज्वरो । संक्रमित एडिस जातका लामखुट्टेले टोक्दा यो रोग स्वस्थ व्यक्तिमा सर्छ । डेंगी ज्वरो र डेंगी हेमोरेजिक ज्वरो गरेर यो दुई प्रकारले देखिने गरिएको छ ।
विशेषज्ञहरूले डेंगी संक्रमणमा एक्कासि उच्च ज्वरो, टाउको र आँखा पछाडि तीव्र दुखाइ, जोर्नी र मांसपेशी दुख्ने, छालामा रातो डाम देखिनु, आन्तरिक रक्तस्राव, चक्कर लाग्नु र बान्ता हुनु प्रमुख लक्षण रहेको बताउँदै आएका छन् । डेंगीको कडा रूप हेमोरेजिक ज्वरो हो । यसमा अन्य लक्षणसहित छालामा रातो डाम देखिनु, आन्तरिक रक्तस्रावलगायतका समस्या देखिन्छ । यसले मृत्युसमेत हुनसक्छ ।
सरकारले हालसम्म जनहितमा डेंगीको लक्षण, बचाउको उपाय रोकथामबारेको जानकारी जनसाधारणसम्म पुर्*याउन सक्षम भएको देखिएन । दक्षिणपूर्वी एसिया क्षेत्रका भारत, बंगलादेश, म्यानमार, मालदिभ्स, थाइल्यान्ड, इन्डोनेसिया, श्रीलंका र टिमोरमा बर्सेनि डेंगी ज्वरो देखिने गरिएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । भुटानमा सन् २००४ मा पहिलोपटक डेंगी देखिएको थियो । हालै पाकिस्तानमा समेत यो देखिएको सञ्चारमाध्यमले जनाएका छन् ।
हालसम्म नेपालमा डेंगी देखिएको सरकारले पुष्टि गरेको छैन । सरकारले पुष्टि नगरेका कारण डब्लूएचओले दक्षिणपूर्वी एसियाका डेंगी देखिएका मुलुकमा नेपाललाई सामेल गरेको छैन । सीमाको एक किलोमिटर टाढा भारतीय क्षेत्रमा त्यही लक्षण भएकाहरूलाई चिकित्सकले डेंगी भन्नु र सीमावारि त्यस्तै रोगी डेंगीमुक्त रहेको सरकारले जनाउनु आफैंमा हास्यास्पद रहेको सीमावर्ती क्षेत्रका चिकित्सकहरूको अनुभव छ ।
सरकारले डेंगी रोग पहिचान गर्न प्रयोगशाला परीक्षणसहितको टोली नेपालगन्ज पठाएको छ । तर उक्त टोलीसँग यसको किटान गर्न सक्ने एलायजा र पीसीआर परीक्षण सुविधा छैन । टोलीले निजी क्षेत्रबाट खरिद गरेर ँरिपिड डायग्नोस्टिक किट’ लगेको छ । यसले मुलुकको एकमात्र केन्द्रीयस्तरको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमतासमेत शंकाको घेरामा पारेको छ । केन्द्रीय प्रयोगशालाबाट डेंगीको प्रयोगशाला परीक्षण नहुने जानकारी पाएपछि निजी क्षेत्रको शरण लिएकाहरूसमेत छन् । उक्त किटको विश्वसनीयतामा नेपालगन्जस्थित चिकित्साशास्त्रका प्राध्यापकहरूसमेत असन्तुष्ट देखिएका छन् ।
भारतबाट फर्किएका एक नेपालीमा डेंगी देखिएको निजी क्षेत्रको प्रयोगशालाले समेत पुष्टि गरिसकेको छ । तर सरकारले डेंगी प्रभावित क्षेत्रबाट फर्किने संकास्पद रोगीहरूका लागि रोग परीक्षण र उपचारको कुनै विशेष व्यवस्था गरेको छैन । भारत सरकारले डेंगीका संकास्पद रोगीहरूका लागि निःशुल्क परीक्षण एवं उपचारको व्यवस्था गरेको छ । साथै रोगको बारेमा जानकारी प्रभावित व्यक्तिले कहाँ निःशुल्क स्वास्थ्य सेवा पाउने अस्पतालहरू लगायतका सूचना जनहितको विज्ञापनमार्फत जनसमक्ष पुर्*याउँदै आएको छ ।
डेंगी भाइरस चार प्रकारका भए पनि एकपटक भइसकेकामा फेरि अर्को प्रकारको डेंगी संक्रमण भयो भने डेंगी हेमोरेजिक ज्वरो हुने सम्भावना रहेको चिकित्सकहरू बताउँछन् । मुख्यतः दिनमा टोक्ने पोथी जातको संक्रमित एडिस लामखुट्टेको टोकाइबाट यो सर्छ । संक्रमित व्यक्तिको रगत चुस्दा लामखुट्टेले उक्त भाइरस आफ्नो शरीरभित्र पाल्छ । लामखुट्टेको शरीरमा भाइरस पसेको ८ देखि १० दिनपछि संक्रमित लामखुट्टे जीवनभरि रोग सार्न सक्षम हुन्छन् । संक्रमित पोथी लामखुट्टेले पारेको फुलबाट निस्किने लामखुट्टेले समेत उक्त भाइरस सार्छ ।
सरकारको मुख्यतः तराईलाई प्रभावित पार्न सक्ने डेंगी रोगको निःशुल्क प्रयोगशाला परीक्षण, औषधि उपचार र यसबाट बचाउका जानकारीहरू जनस्तरसम्म पुर्*याउनु पहिलो कर्तव्य हो । डेंगीसँगै लामखुट्टेले हुने कालाजार, औलो, इन्सेफ्लाइटिसबाट बाँच्ने उपाय, उपचारलगायतका वैज्ञानिक जानकारी जनस्तरसम्म पुर्*याउनसके यसले जनस्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउनेछ । |