काठमाडौं, असोज २७ - दिल्लीबाट फर्केका एक युवामा डेंगु रोग देेखिएको छ । दिल्लीबाट फर्केपछि बिरामी परेका काठमाडौं कलेज अफ म्यानेजमेन्टका विद्यार्थी हेमन्त सापकोटामा प्रयोगशाला परीक्षण गर्दा डेंगुका जीवाणु फेला परेको हो ।
'तीव्र ज्वरो, टाउको दुखाइलगायत समस्याले सतायोे,' सापकोटाले कान्तिपुरसँग शुक्रबार भने । उनले आफूलाई १ सय ३ डिग्रीसम्म ज्वरो, टाउको, जोर्नी, घाँटी दुख्नेलगायत समस्या देखिएको बताए । शुक्रराज टोपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा शुक्रबार डेंगु विशेषज्ञ डा. वासुदेव पाण्डेले सापकोटाको विशेष परीक्षण गरेका थिए ।
सापकोटाको एभरेस्ट इन्टरनेसनल क्लिनिक एन्ड रिसर्च सेन्टर कलंकीमा एलाइजा परीक्षणसमेत गरियो । सेन्टरले परीक्षण प्रतिवेदन पोजेटिभ देखाएको छ । 'परीक्षण प्रतिवेदनले सापकोटा डेंगुबाट संक्रमित भएको देखाउँछ,' डा. पाण्डेले भने । उनले हेमन्तमा डेंगु ज्वरो मात्र देखिएको र हेमरेज -रक्तस्राव) नरहेको बताए ।
विशेषज्ञहरूले डेंगु प्रभावित क्षेत्रबाट फर्केकामा कुनै लक्षण देखिए तुरुन्त चिकित्सकको सल्लाह लिन सुझाव दिएका छन् ।
डेंगुमा ज्वरो १ सय ३ देखि १ सय ५ डिग्रीसम्म आउँछ । तीव्र टाउको दुखाइ, आँखा पछाडि दुखाइ, मांसपेशी, जोर्नीहरूमा तीव्र दुखाइ, छालामा रातो डाम देखिनु, आन्तरिक रक्तस्राव, चक्कर लाग्नु र बान्ता हुनु यसका प्रमुख लक्षण हुन् ।
शंकास्पदमा डेंगु पाइएन
नेपालगन्ज मेडिकल कलेजले शंकास्पद भनेका बिरामीमा डेंगु भाइरस नपाइएको त्यहाँस्थित संवाददाताले जनाएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विशेषज्ञ टोलीले 'रैपिड डायगोनोस्टिक कीट' बाट परीक्षण गर्दा नेगेटिभ पाएको हो । टोली संयोजक डा. जीडी ठाकुरका अनुसार नेपालगन्ज र कोहलपुर अस्पतालका शंकास्पद १५ बिरामीको परीक्षण गर्दा उनीहरूमा भाइरस भेटिएन । कीटबाट गरिने परीक्षण ९८ दशमलव ४ प्रतिशत भरपर्दो मानिन्छ । ती नमुनालाई काठमाडौं लगेर पुनः परीक्षण गरिने उनले बताए ।
-
कान्तिपुर