जनकपुर, असोज २० - भारतको सीमावर्ती सहर जनकपुरमा खतरनाक डेंगु रोग फैलिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । बिहारका दरभंगा र पटनामा डेंगुका रोगी फेला परेकाले रोगबारे सतर्कता बढाउनुपर्ने सुझावसमेत उनीहरूले दिएका छन् ।
खुला सिमाना र ती सहरहरूमा दैनिक आवागमनका कारण पनि डेंगु सर्न सक्ने विज्ञहरूले बताए । 'अव्यवस्थित नाला, फोहोर पोखरीहरू तथा लामखुट्टेको बिगबिगी रहने जनकपुरमा डेंगु फैलिन सक्ने पर्याप्त सम्भावना छ,' डा.रामनरेश पण्डित भन्छन् ।
'जनकपुरमा या त नाला छैन, भएका पनि पुरिएर सडकबाट पानी बहन्छ ।' यसैगरी यहाँ रहेका गंगासागर, धनुषसागर, महाराजसागर र अंगराज सागरलगायतका धार्मिक महत्त्वका पोखरीसमेत फोहोर छन् । त्यस्तै जनकपुर-१ शिवपथस्थित हलखोर टोल र जानकी मन्दिर पछाडिको डुम, मुसहरी टोललगायतका अत्यन्तै संवेदनशील स्थलहरूमा फोहोरसँगै सुंगुरको पनि त्यति चलखेल छ । उता उपचारार्थ र कुरुवाका रूपमा दैनिक हजारौंको आवागमन हुने जनकपुर अञ्चल अस्पतालको अवस्था पनि दयनीय छ । आकस्मिक कक्ष अगाडि-पछाडि पानी जमेको छ ।
डेंगु पनि कालाजार र मलेरियाजस्तै लामखुट्टेबाट सर्ने रोग भएकोले यसको नियन्त्रण पनि लामखुट्टे नियन्त्रणबाट मात्र हुनसक्ने विचार डा.पण्डितको छ । उनका अनुसार तीनथरीका डेंगुमध्ये 'फिभर विथ साक' अत्यन्तै खतरनाक हुन्छ । तीव्र ज्वरो आउने, मूच्र्छा पर्ने र शरीरका विभिन्न अंगबाट रगतसमेत बग्न सक्ने भएकोले यो रोग ज्यानसमेत लिन सक्छ ।
डेंगु ज्वरोको अलग्गै उपचार नहुने भएर पनि बिरामीलाई निको हुन कठिन हुने गरेको विज्ञहरू बताउँछन । 'सामान्य ज्वरोका रोगीजस्तै उपचार गर्नुपर्नेर् हुन्छ ,डेंगु लागेको छुट्याउनु पनि कठिन छ,' डा.पण्डित भन्छन् ।
अस्पतालमा ठाउँ अभाव
केही दिनदेखि बालबालिकाहरूमा ज्वरो र निमोनियाको प्रकोप बढेको छ । रोगीको अत्यधिक चापका कारण जनकपुर अस्पतालको आकस्मिक कक्षमा भुइँमा समेत बिरामीको उपचार हँुदैछ । १७ शय्या रहेको आकस्मिक कक्षमा २० अधिक बिरामी भर्ना गरिएकाले भुइँमै उपचार भइरहेको छ । स्रोतका अनुसार सीमावर्ती सहरहरूमा डेंगुको प्रकोप बढे पनि जनकपुर अञ्चल अस्पतालको व्यवस्थापनले यसबारे कुनै पूर्वतयारी वा सतर्कता अपनाएको छैन । यद्यपि डा.पण्डितले कालाजार र डेंगुको उपचार प्रविधि उस्ता उस्तै भएकोले खासै फरक नपर्ने बताए ।
नगरपालिका कर्मचारीहरू अनभिज्ञ
छिमेकी मुलुकमा डेंगु ज्वरोले उत्पात मचाइरहेको बेला नगर सफाइको जिम्मा लिएको जनकपुर नपाका सफाइ कर्मचारीहरू यस रोगबारे अनभिज्ञ छन् । 'मलेरिया र कालाजारबारेमा त सुनेका थिए, यो रोग कस्तो हुन्छ ?' एक सफाइ फोरमैनले भने । करिब एक सातादेखि प्रशासनिक कामकाज बन्द रहेको जनकपुर नपामा यो रोगबारे कुनै सतर्कता अपनाइएको देखिँदैन ।
चितवनमा लक्षण छैन
भरतपुर, २० असोज -कास)- लामखुट्टेको टोकाइबाट हुने 'डेंगु' रोगको लक्षण चितवनमा नदेखिएको सम्बन्धित चिकित्सकले बताएका छन् ।
भारतसँग सिमाना जोडिएका जिल्लामा डेंगु हुनसक्ने भएकोले सचेत रहनुपर्ने चिकित्सकको भनाइ छ । शुक्रबारसम्म डेंगुको लक्षण कुनै बिरामीमा देखिएको छैन, भरतपुर अस्पतालका विशेषज्ञ डा. विजयमान कायस्थले कान्तिपुरसँग भने- 'ज्वरो आएका बिरामी सामान्य उपचारपछि घर फर्केका छन् । मौसम परिवर्तन, फोहोरका कारण लामखुट्टेको टोकाइ र खानपानमा बेवास्ताका कारण असोज कात्तिक महिनामा धेरैलाई ज्वरो आउने भए पनि डेंगु रोगको लक्षण होइन ।' हरेक बिरामी ज्वरो निको भएर फर्किएकाले डिंगु नदेखिएको उनको भनाइ छ ।
यहाँका मेडिकल कलेज, विभिन्न निजी अस्पताल र क्लिनिकमा समेत डेंगु रोगका लक्षणका बिरामी नदेखिएको चिकित्सकले उल्लेख गरेका छन् । हामीले यसबारेमा पत्रिकाबाट थाहा पायौं, डा. कायस्थले भने- 'स्वास्थ्य मन्त्रालयले यसबारेमा भरतपुर अस्पताललाई जानकारी दिएको थिएन ।' हालसम्म चितवनमा डेंगु रोगको लक्षण नदेखिएको उनले बताए । ज्वरो आउनु, झाडाबान्ता, मांसपेशी दुख्ने बिरामीलाई डेंगु नै हो भन्न मिल्दैन । डेंगुको लक्षण देखिएपछि नाक-मुखबाट रक्त्तश्राव हुने डा. कायस्थ बताउँछन् । भारतमा बालबालिकालाई यो रोगले बढी सताएको उनले जानकारी दिए । लामखुट्टेको टोकाइबाट बच्यो भने रोग नलाग्ने उनको भनाइ छ । -
कान्तिपुर श्यामसुन्दर शशि