| वीरका बहिरंग सेवा बन्द -
07-05-2007, 10:15 PM
काठमाडौं, वैशाख २४ - वीर अस्पतालका रेजिडेन्ट चिकित्सकले एनेस्थेटिस्टलगायतका अन्य साधन सुविधाकोेे अभाव औल्याउँदै तत्काल सम्बद्घ निकायले पहल गर्नुपर्ने मागसहित सोमबार बहिरंग सेवा बन्द गरेका छन् ।
यसअघि आइतबार उनीहरूले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका थिए । बहिरंग सेवामा मंगलबार रेजिडेन्टको सहभागिता नरहने उनीहरूले जनाएका छन् । सम्बद्घ निकायबाट मंगलबारसम्म समेत मागको सुनुवाइ नभए अस्पतालमा सञ्चालित आकस्मिकबाहेकको सेवामा रेजिडेन्ट चिकित्सकको सहभागिता नरहने चेतावनी दिइएको छ । 'एनेस्थेटिस्ट नभएर शल्यक्रियाका लागि आउनेलाई अन्यत्र पठाउनुपर्ने बाध्यता छ,' रेजिडेन्ट एसोसिएसन अफ नाम्सका अध्यक्ष डा. गोपेश ठाकुरले भने- 'चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान -नाम्स) मा सुधार ल्याउन दबाबमूलक विरोध कार्यक्रम सञ्चालन गरेका हौं ।'
एनेस्थेटिस्टको अभावले पठनपाठसँगै अस्पतालको सेवासमेत प्रभावित भएको रेजिडेन्टहरूले बताए । 'सामान्य व्यक्ति निजी क्षेत्रमा उच्च शुल्क तिरेर शल्यक्रिया गराउन सक्दैनन्,
हामी यहाँ आएकालाई के अन्य अस्पताल जाउ भन्न बसेका हौं ?,' डा. ठाकुरले भने- 'दिनहँु २०/२५ शल्यक्रिया हुने अस्पताल हाल शल्यक्रिया शून्य भएको
छ ।' अस्पतालमा स्नातकोत्तर तहमा अध्ययनरत करिब एक सय ७१ रेजिडेन्ट चिकित्सक छन् ।
अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान -नाम्स) मा परिणत भएपछि चार वर्षदेखि यहाँ स्नातकोत्तरको अध्ययन सुरु भएको हो । हाल मेडिसिन, शल्यक्रिया, हाडजोर्नी, आँखा, स्त्रीरोग, प्याथोलोजी, बालरोग, रेडियो डायग्नोस्टिक, रेडियोथेरापी, जनरल प्राक्टिसमा स्नातकोत्तर तहको अध्ययन सञ्चालित छ । |