भैरहवा, असोज ११ - दस वर्षभित्र विश्वका दृष्टिविहीन दस लाख व्यक्तिलाई गुणस्तरीय सेवा प्रदान गरी पुनर्दृष्टि दिलाउने प्रतिबद्धता यहाँ सम्पन्न सामुदायिक आँखा स्वास्थ्य कार्यक्रमको अन्तर्राष्ट्रिय बैठकले गरेको छ ।
अमेरिकाको सेवा फाउन्डेसन र लुम्बिनी आँखा अध्ययन संस्थान भैरहवाद्वारा संयुक्तरूपमा भैरहवामा आयोजित तिनदिने बैठकले निर्णय गरी उक्त प्रतिबद्धता देखाएको हो । बैठकमा, अमेरिकास्थित सेवा फाउनडेशनद्वारा अमेरिका, क्यानडा, ग्वाटेमाला, तान्जानिया, इजिप्ट, नेपाल र भारतमा आँखा उपचारका लागि सञ्चालित सातवटा केन्द्र र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसमेत गरी २५ जनाको सहभागिता थियो ।
तीन दिनसम्म सञ्चालन भएको उक्त बैठकले, दृष्टिविहीन दस लाख जनाको सफल उपचार गर्नका निम्ति सात केन्द्रले कुल १ सयवटा थप अस्पतालको निर्माण गर्ने योजनालई अघि सारेको छ ।
सेवा फाउन्डेसनको नेपालमा सञ्चालित केन्द्र भैरहवास्थित लुम्बिनी रण अम्बिका शाह आँखा अस्पताल हो ।
यस अस्पतालले नेपालको नौवटा जिल्लामा प्राथमिक आँखा उपचार केन्द्रको स्थापना गरिसकेको छ । पाँच वर्षमा कपिलवस्तुको कृष्णनगरमा १ सय र नवलपरासी जिल्लामा ४० शय्याको आँखा अस्पतालको स्थापना गर्ने योजनामा छ । वाषिर्क २ लाखभन्दा धेरैको आँखा परीक्षण र २९ हजारभन्दा धेरैको शल्यक्रिया यस अस्पतालमा हुने गर्छ ।
फाउनडेसनका कोषाध्यक्ष स्टिव मिलरले, दुर्गम र आर्थिक विपन्न समुदायका नेत्र विहीन तथा आँखाका बिरामीलाई कम खर्चमा गुणस्तरीय सेवा दिने निर्णय गरिएको जनाउँदै उपचारका लागि अस्पताल आउन नसक्ने बिरामीका लागि भैरहवाको अस्पतालले जस्तै अन्य केन्द्रले पनि शाखा विस्तार गरी शिविर सञ्चालन गर्न बैठकमा जोड दिइएको बताए । 'लुम्बिनी रण अम्बिका शाह आँखा अस्पताल विश्वकै नमुना अस्पतालका रूपमा विकसित भइरहेको छ र यसका लागि नेपालको नेत्र ज्योति संघको योगदान सराहनीय छ' उनले भने ।
सन् २००६ मा विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनले विश्वमा ३ करोड ७० लाख निको पार्न सकिने खालका अन्धा छन् । नेपालमा सन् १९८१ को अध्ययनअनुसार, करिब ३ लाख अन्धा छन् र प्रत्येक वर्ष ३६ हजार अन्धा थपिँदै जाने गरेका छन् । जसमध्ये, सबैभन्दा धेरै नारायणी र कम धौलागिरि अञ्चलमा रहेको जनाइएको छ ।
-
कान्तिपुर संवाददाता