| प्रयोगशालापिच्छे फरक प्रतिवेदन -
27-09-2006, 01:34 AM
काठमाडौं, असोज १० - वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्न प्रयोगशाला पुगेका झापा केचना- १ का अशोक घिमिरेको रगतमा भीडीआरएल पोजेटिभ देखियो । एक हजार ५ सय रुपैयाँ तिरेर लाइफ केयर डाइग्नोसिसमा गरेको परीक्षणमा यौनरोग देखिए पनि घिमिरेलाई विश्वास लागेन । उनले पुनः जोरपाटीको नेपाल मेडिकल कलेजमा परीक्षण गराए । त्यहाँ पनि भीडीआरएलकै रिपोर्ट आयो ।
उनलाई अब विदेश जानेभन्दा बढी उपचार गर्ने चिन्ता बढ्यो । 'मैले डाक्टरसँग यस्तो रोग लाग्नै नसक्ने दाबी गरें, त्यसपछि मलाई सिद्धपोलि क्लिनिकमा परीक्षण गर्न भनियो,' उनले कान्तिपुरसित भने- 'त्यहाँको परीक्षणमा भने नेगेटिभ देखियो ।' अविवाहित घिमिरेले विदेश जाने धुनमा रगत परीक्षण गर्दा दुई साता अनावश्यक तनाव बेहोर्नुपरेको बताए ।
'तेस्रो परीक्षण नगरुन्जेलसम्म मैले भोगेको मानसिक तनाव बयान गरेर साध्य छैन,' उनले भने- 'गुणस्तरहीन प्रयोगशालाबाट बिनासित्तै दुःख पाएँ ।'
घिमिरेमात्र होइन, प्राध्यापन पेसामा संलग्न जाउलाखेलकी अमिता चौहानले पनि यस्तै समस्या भोग्नुपरेको थियो ।
उनले अलका अस्पतालमा यसैसाता परीक्षण गराउँदा रगतमा चिनीको मात्रा अत्यधिक देखियो । घिमिरेले जस्तै चौहानले पनि डाक्टरको सल्लाहमा अर्को प्रयोगशालामा परीक्षण गराइन् । 'त्यहाँ भने सामान्य देखियो,' उनले भनिन्- 'त्यस घटनाले मलाई प्रयोगशालाप्रति विश्वासै हटेको छ, अब रगत परीक्षण रिपोर्ट एउटैमा मात्रै भर पर्दिनँ ।'
घिमिरे र चौहान त उदाहरणमात्र हुन् । राजधानीमा खुलेका प्रयोगशालामध्ये आधाभन्दा बढी अवैधानिक छन् र तिनीहरूले दिने रिपोर्ट पनि असत्य हुन्छ । यसले गर्दा हजारौं पीडित बन्नुपरिरहेको छ ।
स्वास्थ्य मन्त्रालयका एक विशेषज्ञका अनुसार उपत्यकाका धेरै प्रयोगशाला मापदण्डअनुकूल छैनन् । गत वर्ष स्वास्थ्य मन्त्रालयले गरेको अनुगमनमा आधाभन्दा बढी प्रयोगशाला मापदण्डअनुसार नरहेको पाइएको थियो । तर मन्त्रालयले हालसम्म त्यस्ता कुनै प्रयोशालालाई कारबाही गरेको छैन ।
अनुगमनमा प्रयोगशालामा अदक्ष जनशक्ति, म्याद सकिएका 'रिएजेन्ट' -रसायन) प्रयोग गरेको पाइएको थियो । 'उपत्यकाको धेरैजसो प्रयोगशालाका परीक्षण भरपर्दो छैन,' ती विशेषज्ञले भने- 'प्रयोगशालामा योग्य जनशक्ति छैनन् ।'
गुणस्तरयुक्त रिएजेन्ट र उपकरण, विश्व स्वास्थ्य संगठनले मान्यता दिएको विधि, दक्ष जनशक्ति भएमात्र प्रयोगशाला परीक्षणले गुणस्तर राम्रो दिन सक्ने स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष डा. शिवकुमार राई बताउँछन् ।
- कान्तिपुर, अतुल मिश्र म अनि मेरो नेपाल उस्तै उस्तै हो । |