आँखा सुन्निएर पीप र रगत बग्न थालेपछि मोतिया बिन्दुको अपरेसन गर्न अस्पताल गएका एक दर्जन रोगीले उल्टै आँखाको ज्योति गुमाउनुपरेको छ।
आँखामा भएको मोतिया बिन्दु रोगको अपरेसनपछि सधैंभरि सफासँग देख्न पाइएला भनी नेपालगन्जको फत्तेवाल आँखा अस्पताल आइपुगेका ती १२ जना बिरामीको अपरेसनका क्रममा आँखाको ज्योति गुमेको हो।
पीडितहरूले अस्पतालका चिकित्सकहरूको चरम लापरबाहीका कारण आफूहरू अन्धो हुनुपरेको बताएका छन्।
अन्धो हुनेहरूमा बाँके जिल्लाका मात्र आठ जना रहेका छन् ती सबै नेपालगन्ज नगरपालिकासँग जोडिएको परसपुर गाविसका हुन् भने एक जना सुर्खेतका र तीन जना भारतबाट उपचार गर्न आएका बिरामी रहेका छन्।
गत भदौ १० गते नेपाल-भारतको सहयोगमा परसपुर गाविसमा फत्तेवाल आँखा अस्पतालले आँखा शिविर सञ्चालन गरेको थियो। सो शिविरमा आँखा जँचाउन गएकामध्ये करिब एक दर्जन बिरामीलाई मोतिया बिन्दुको रोग देखिएकाले अपरेसनका लागि अस्पताल बोलाइएको थियो।
भदौ ११ गते अस्पतालमा भर्ना भएका परसपुर गाविसलगायतका ठाउँका मोतिया बिन्दुका रोगीहरूको अपरेसन भदौ १२ गते अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वासु अधिकारीले गर्नुभएको थियो।
अपरेसनको तीन दिनपछि केहीलाई घर पठाइएको थियो भने केही त्यहीँ बसेका थिए। तर त्यसको लगत्तै परसपुरका आठ जना, सुर्खेतका एक जना र भारतका तीन जनाको आँखाको ज्योति गुमेको हो।
आँखाको ज्योति नष्ट हुनेहरूमा परसपुर गाविसका हाजी दिलदार दर्जी, बैतुला दर्जी, रामकुमारी, गयाप्रसाद, गोपाल नाऊ, काशीराम कादू, छेदराज हरिजन र दुइजी चमार रहेका छन्। त्यस्तै सुर्खेतकी हरिकला र भारत बहराइचका बरसाती तथा बाराबंकीका इश्राना रहेका छन्।
उनीहरूले डाक्टरको लापरबाही तथा बेवास्ताका कारण आँखाको ज्योति नष्ट भएको बताएका छन्। पीडितहरूले लापरबाही गर्ने डाक्टरसँग कारबाही र क्षतिपूर्तिको माग गरेका छन्।
स्पतालका मुख्य कार्यकारी अधिकृत कौशलकुमार बर्माले अपरेसनपछि उनीहरूको आँखाको ज्योति नष्ट भएको स्वीकार्दै सोको कारण पत्ता नलागेको बताउनुभयो।
अधिकृत बर्माले सो सम्बन्धमा छानबिन गर्न नेपाल नेत्र ज्योतिसंघ बाँकेका कार्यसमिति सदस्य केशवराम बर्माको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको समेत जानकारी गराउनुभयो। सोसम्बन्धमा डा. अधिकारीसँग जानकारी माग्दा उहाँले केही बताउन चाहनु भएन।
यसै विषयलाई लिएर माओवादी बाँके जनसरकार उपप्रमुख परमानन्द बर्मालगायत पत्रकार र मानवअधिकारवादीहरूको एक टोलीले फत्तेवाल आँखा अस्पताल गई पीडितहरूलाई भेटेर उनीहरूको गुनासो सुन्नुका साथै अस्पताल प्रशासनसँग पनि सो घटनाबारे जानकारी लिएको छ।
-
नेपाल समाचारपत्र सम थापा, नेपालगन्ज, बाँके