चिकित्सा इतिहासकै पहिलो घटना निधारबाट सिसा निस्कने बालिका अनुसन्धानमा
नेपालगन्ज, असोज ४ - शरीरबाट सिसाका टुक्रा निस्कने एक बालिकाको चिकित्सकहरूले अनुसन्धान सुरु गरेका छन् ।
कोहलपुरस्थित शिक्षण अस्पतालले निधारबाट काँचका टुक्रा निस्कने कैलाली टिकापुरकी १२ वषर्ीया सरिता विष्टको बुधबारदेखि अनुसन्धान सुरु गरेको हो । तीन वर्षदेखि शरीरबाट सिसा निस्कने रोगले पीडित बालिकालाई चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ । अनुसन्धानमा पठाउनु अघि नेपालगन्ज मेडिकल कलेजले उनको प्रारम्भिक स्वास्थ्य परीक्षण गरेको थियो ।
'सिटिस्क्यान गर्दा छालामा मात्र यस्तो समस्या देखियो,' अनुसन्धानमा संलग्न चिकित्सक डा. एम किदुवाईले भने- 'सिसाले हाडमा छोएको देखिँदैन तर यसको अनुसन्धानपछि मात्रै विस्तृत भन्न सकिन्छ ।'
उनले बालिकालाई तीन दिन चिकित्सकको निगरानीमा राखेर सिसा निस्कने र बन्ने प्रक्रियाको अध्ययन गर्ने बताए । मेडिकल इतिहासमा यस्तो घटना यसअघि देखा नपरेको चिकित्सकले बताएका छन् ।
'हाड बढेर सिङ निस्केका धेरै उदाहरण छन् । तर शरीरले सिसा उत्पादन गर्दैन,' डा. किदुवाईले भन्े- शरीरबाट सिसा उत्पादन हुनु अनौठो लाग्दो !' कोहलपुर मेडिकल कलेजका चिकित्सकले पनि यसलाई अद्भुत् घटना बताएका छन् । त्यहाँ प्रोफेसर एसएम मिश्रा, एस के गुप्ता, डा. सीपी पाण्डे र डा. अनिर श्रेष्ठले अनुसन्धान गरिरहेका छन् ।
चिकित्सकहरूले अनुसन्धानका लागि रोनास्टका वैज्ञानिकहरूको समेत सहयोग लिने भएको छन् । 'सिसा टल्केर निस्केको देखियो तर, मस्तिष्कमा सिसा छैन,' अस्पतालका उपनिर्देशन डा. जितेन्द्र महासेठले भने- 'थप परीक्षणका लागि शल्यक्रिया गरेर रोनास्टमा पनि मासु पठाइनेछ ।'
यी बालिकामा ०६१ वैशाखदेखि यस्तो लक्षण देखिएको हो । ०६२ माघ ५ गतेदेखि बुधबारसम्म १ सय ३१ टुक्रा सिसा निस्किसकेको छ । भदौ २२ यता प्रत्येक दिन त्रिभुज आकारका सिसा निस्केको सरिताकी आमा धनसराले बताइन् । 'एकै दिन १२ वटासम्म निस्क्यो' उनले भनिन् । 'सुरुमा सिसा निस्कँदा निधारमा सानो फोरा उठेजस्तो देखिएको थियो,' उनले भनिन्- 'नङले कोट्याउँदा सिसाको टुक्रा निस्क्यो ।' उनले त्यतिबेला आफूलाई समेत विश्वास नलागेको उनले बताइन् ।
कहिलेकाहीँ सिसा निस्कँदा सरिता बेहोस हुने धनसराले बताइन् । प्रायः बिहान ९ बजेदेखि १२ बजेभित्र निधारबाट सिसा निस्कन्छ । ३ लाख खर्च लागिसकेकाले अब उपचार गर्न नसकिएको अभिभावकले बताए ।
-
कान्तिपुर, जे पाण्डे