देशका विभिन्न भागमा हेपाटाइटिस बी विरुद्ध खोप दिलाउने होड चलिरहेकोे छ । हिपाटाइटिस बी पोजिटिभ भएकाले वैदेशिक रोजगारमा जान नपाएको र यसले कलेजो खराब गर्ने भएकाले मानिस यसतर्फ आकषिर्त भएका होलान् । यही विषयमा दुई राष्ट्रिय दैनिकमा समाचार र पाठकपत्र पढ्न पाइयो । त्यसले मलाई पनि केही लेख्न प्रेरित गर्*यो ।
खोप किन ?
रोगबाट बच्न खोप लगाइन्छ । हेपाटाइटिस बीका कारण 'लिभर सिरोसिस' -कलेजो कडा भएर जाने रोग) लाग्छ । कलेजोको क्यान्सरबाट बच्न यो खोप दिइन्छ । हेपाटाइटिस बी भएका आमाबाट जन्मिएका बच्चालाई जन्मिनासाथ खोप दिएर बचाउनुपर्छ । उपचारभन्दा खोप कम खर्चिलो र बढी असरदार हुन्छ ।
कसलाई खोपाउने ?
विस्तारित खोप कार्यक्रमअन्तर्गत सम्पूर्ण नवजात शिशुलाई खोप दिने अभियान चलाउनुपर्छ । धेरै देशमा यस्तै गरिएको पाइन्छ । हाम्रो देशमा सबै ठाउँमा यो उपलब्ध हुन सकेको छैन । यस्तो अवस्थामा निम्न लिखित व्यक्ति वा समुदायले खोप लिनुपर्छ-
- हेपाटाइटिस बी पोजिटिभ आमाबाट जन्मेका सन्तान
- स्वास्थ्यकर्मी जस्तै डाक्टर, नर्स, अनमी आदि
- हेपाटाइटिस बी पोजिटिभ भएका व्यक्तिको संसर्गमा आउने परिवारजन
- जनसरोकारसम्बन्धी कार्य गर्ने व्यक्ति जस्तैः एम्बुलेन्स, दमकलमा कार्य गर्ने व्यक्ति
- रोगका कारणले रगत अथवा रगतजन्य पदार्थ लिइरहनुपर्ने हेमोफिलियाका रोगी, हेमोडायलाइसिस गर्नुपर्ने मृगौला रोगी आदि ।
- यौनकर्मी, पुरुष समलिंगी
- सुईबाट नशालु पदार्थ लिने दुव्र्यसनी
यो कुनै पनि उमेरका मानिसमा दिन सकिन्छ । १८ वर्षभन्दा माथिकालाई दिएर काम छैन पत्रिकामा छापिएको खबर गलत हो । उमेर पुगेका मानिसलाई नदिइनुका कारण भने छ । त्यो के हो भने हेपाटाइटिस बी शरीरमा पसेर लिभर सिरोसिस गराउन करिब १५-२० वर्ष लाग्छ ।
खोप कसरी दिने ?
यो खोप हात या खुट्टाको मांसपेशीमा दिइन्छ । पाँच वर्षभन्दा मुनिका बच्चालाई एकपटकमा ०.५ मिली दिइन्छ भने त्यसभन्दा माथि १ मिली । एक वर्षभन्दा मुनिका बच्चालाई तिघ्रामा दिनुपर्छ त्यस माथिकालाई पाखुरामा । साधारणतया सुई दिइने गरेको फिलामा बोसो हुनुका कारणले सुई दिनु हुँदैन । यो खोप अरू खोप दिएको दिनमा पनि दिन सकिन्छ । एउटै सिरिन्जबाट भने दिनु हुँदैन । दुई भिन्न हात वा खुट्टामा दिँदा समस्या हुँदैन । साधारणतया यो खोप तीनपटक दिइन्छ । पहिलो खोप दिएपछि दोस्रो खोप १ महिनाको अन्तरमा दिनुपर्छ भने तेस्रो खोप ६ महिनाको अन्तरमा दिइन्छ ।
केही दिन बिर्सिएमा संझिनासाथ दिएमा खास हानि हुँदैन । उमेर पुगिसकेका व्यक्ति र हेपाटाइटिस बीका बिरामीको परिवारजनले यो खोप दिनुअघि रगतमा हेपाटाइटिस भाइरस छ कि छैन जाँच्नु पर्छ । हेपाटाइटिस बी पोजिटिभ आमाबाट जन्मेका सन्तानलाई यो खोपसँग जन्मिनासाथ हेपाटाइटिस बी इम्युनोग्लोबुलिन सुई दिन जरुरी हुन्छ ।
खोपबाट बचावट
साधारणतया ९०-९५ प्रतिशत व्यक्ति ३ वटा खोप पाइसकेपछि रोगबाट बच्न सक्छन् । बाँकी ५-१० प्रतिशतमा यसले आंशिक काम गर्ने अथवा काम नै नगर्ने हुन सक्छ । त्यस्तालाई पुनः खोप दिनाले पूर्णरूपमा काम गर्ने सम्भावना हुन्छ । खोप पूरा भएपछि आठौं महिनामा रगतमा एन्टी एचबीएस एन्टिबडी नापेमा आफू कति सुरक्षित छु भन्ने थाहा हुन्छ ।
हुन सक्ने समस्या
यो खोप धेरै सुरक्षित छ । केही व्यक्तिमा खोप दिएको ठाउँमा दुख्ने, सुन्निने, रुघा लाग्दा हुने लक्षण जस्तैः अल्छी लाग्ने, टाउको दुख्नेे, साधारण ज्वरो आउने हुन सक्छ । यी सबै केही समयका लागि मात्र देखा पर्छन् र आफैं हराएर जान्छ । खोपको एलर्जी ६ लाख व्यक्तिमा एक जनालाई देखिन सक्छ । यस्तो भएमा तुरुन्त अस्पताल लैजान जरुरी हुन्छ । खोप दिएमा हेपाटाइटिस बी लाग्न सक्छ भन्ने हल्ला निराधार हो । यसबाट कुनै पनि रोग लाग्ने सम्भावना हँुदैन ।
अन्त्यमा
हेपाटाइटिस बी पोजिटिभ हुँदैमा सबैलाई रोग लाग्दैन । विचार नपुर्*याए कलेजोको क्यान्सर हुन सक्छ । सानो उमेरमा सरेमा रोग लाग्न सक्ने सम्भावना बढ्ने भएकाले खोप समयमा लिन जरुरी हुन्छ । सरकारले सबै जिल्लामा विस्तारित खोप कार्यक्रममा यसलाई समावेश गरे धेरै धनजनको क्षति हुनबाट जोगिन्छ । निजी क्षेत्रबाट गरेको काम सराहनीय हो तर त्यो प्रक्रिया पुर्*याएर ठीक ढंगबाट हुनुपर्छ । 'कोल्ड चेन' प्रक्रियाबाट प्राप्त खोपमात्र दिन र लिन जरुरी हुन्छ । वयस्कमा यो खोप दिनुअघि हेपाटाइटिस बीको जाँच अनिवार्य हुनुपर्छ । हेपाटाइटिस बी लागिसकेका बिरामीलाई खोप दिएर असर देखिँदैन । यो खोप लगाएपछि जन्डिसबाट जोगिन्छ भन्नेमा सत्यता छैन ।
-
कान्तिपुर डा. सुधांशु केसी, लेखक, कलेजो रोग विशेषज्ञ हुन् ।