दरबन्दीभन्दा कम चिकित्सक स्वास्थ्य सेवा प्रभावित
काठमाडौं, भदौ २८ - मुलुकका अधिकांश सरकारी अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा उपचार सेवा प्रभावित भएको छ ।
राजधानीकै अधिकांश अस्पतालमा दरबन्दीभन्दा निकै कम चिकित्सक कार्यरत छन् । कान्ति बाल अस्पतालमा ३९ जना मेडिकल अधिकृतको दरबन्दी भए पनि १३ जना मात्र कार्यरत छन् । यसबाहेक अस्पतालमा दरबन्दीअनुसारका पेडियाटि्रक सर्जन, एनेस्थेसिया चिकित्सक, रेडियोग्राफरलगायतका जनशक्तिको समेत अभाव छ । कान्तिका निर्देशक डा. शिवशंकर झा विभिन्न कारणले २६ जना मेडिकल अधिकृत अनुपस्थित रहेको बताउँछन् ।
राजधानीबाहिरको अवस्था झन् कमजोर छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, सुर्खेतमा २३ चिकित्सकको दरबन्दी भए पनि चार जनामात्र कार्यरत छन् । '२३ चिकित्सकले गर्ने काम चार जनाले गर्दा कस्तो उपचार सेवाको आशा गर्ने ?' एक चिकित्सकले प्रश्न गरे । मुलुकभरि बेलाबेलामा अस्पताल र बिरामीका आफन्तबीच देखिने द्वन्द्वको स्थिति चिकित्साकर्मीको अभावले सिर्जित हुने केही चिकित्सक बताउँछन् ।
मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर सिंहले भने वास्तविक तथ्यांक नभएकाले दरबन्दीअनुसारका चिकित्सक रहेको कुनै पनि अस्पतालको नाम उल्लेख गर्न नसकिने जनाए । सरकारी अस्पतालमा चिकित्सकहरूको वर्तमान दरबन्दी एक दशकअघिको जनसंख्या अनुकूल रहेको मन्त्रालय स्रोतले जनाएको छ । एक दशकमा जनसंख्या वृद्घ िभए पनि चिकित्सक र चिकित्साकर्मीको दरबन्दी भने थप गरिएको छैन ।
डेढ दशकअघिको दरबन्दीमा हाल जनशक्तिको संख्या बढाउनेतर्फ पुनर्मूल्यांकन र समीक्षा भइरहेको स्वास्थ्य प्रवक्ता सिंहले बताए ।
सरकारी अस्पतालमा दरबन्दी अनुसार दक्ष जनशक्ति नभएर सेवा प्रभावित हँुदा पनि मन्त्रालयले सक्रियता नदेखाएको आरोप स्वास्थ्यकर्मीको छ । 'हामी दरबन्दीअनुसार चिकित्साकर्मी पठाउन क्रियाशील छौं,' प्रवक्ता सिंहले भने ।
देशभरि ८३ वटा सरकारी अस्पताल छन् । मन्त्रालयले प्रस्तुत गरेको पाँच वर्ष पुरानो तथ्यांकअनुसार १८ हजार ४ सय ३९ जनाका लागि मुलुकमा एक जना चिकित्सक छन् । यस्तै मन्त्रालयअन्तर्गत १ हजार २ सय ५९ चिकित्सक कार्यरत छन् । मुलुकमा केन्द्रीय अस्पताल पाँचवटा, क्षेत्रीय र उपक्षेत्रीय अस्पताल एक/एकवटा, अञ्चल अस्पताल ९ र जिल्ला अस्पतालको संख्या ६७ छ ।
-
कान्तिपुर, अतुल मिश्र