| एचआईभी संक्रमितको संस्थालाई गाउँ छाड्न च -
26-04-2007, 12:45 AM
मोरङ (नेस)। पूर्वाञ्चललाई कार्यक्षेत्र बनाएर एचआईभी संक्रमितहरूका लागि कार्यरत यस क्षेत्रकै चर्चित नवकिरण प्लस संस्थालाई विराटनगरका केही व्यक्तिहरूले गाउँ छाड्न चेतावनी दिएका छन्।
संक्रमितहरूलाई उपचार गर्न अस्पतालका रुपमा विराटनगरमा स्थापना गरिएको सो सामाजिक संस्थालाई ठाउँ छोडेर अन्यत्र जान चेतावनी दिनेहरूको अगुवाइ भने बुद्धिजीवीले गरेका छन्।
स्थानीयवासी तथा स्नातकोत्तर क्याम्पस विराटनगरका प्राध्यापक यादव केसीले संस्थालाई आफ्नो गाउँमा बस्न नदिने बताए। उनले एचआईभी संक्रमितदेखि महिला तथा बालबालिका डराउने भएकाले संस्था बस्न नदिने बताए।
एचआईभी संक्रमितहरूद्वारा स्थापित नवकिरण प्लसको विराटनगर-१७ स्थित पूर्वाञ्चल क्षेत्रीय कार्यालयलाई केसीको अगुवाइमा छाड्न चेतावनी दिइएको हो।
उनले संस्थाका व्यक्तिहरूलाई भेला गरेर चेतावनी दिँदै भने- 'एक रात मात्रै संस्था यो ठाउँमा राखिए त्यसको जवाफदेही हामी हुँदैनौं।'
नवकिरण प्लसका क्षेत्रीय संयोजक कृष्ण गुरुङले संक्रमित पनि मानव नै भएकाले टोलमा बस्न दिन आग्रह गरेका छन्। गुरुङले मानिसको चेतनाको विकास हुन नसकेको बताउँदै दुःख व्यक्त गरे। |