| रेडक्रसकर्मी चढेको सवारीसाधन तोडफोड, तीन -
26-04-2007, 12:37 AM
नेपाल समाचारपत्र, (जनकपुरधाम)। नेपाल रेडक्रस सोसाइटीको नेपालगन्जमा यही वैशाख १३, १४ र १५ गते हुने केन्द्रीय महाधिवेशनमा हिँडेका दुइ बस रेडक्रसकर्मीउपर सोमबार राति १२:४५ बजे धनुषाको महेन्द्रराजमार्ग स्थित भीमानमा अज्ञात समूहले आक्रमण गरी करिब तीन दर्जन घाइते बनाएका छन्। आक्रमणबाट दुइ बस र एक जीप तोडफोड भएको छ।
नेरेसोका केन्द्रीय सदस्य तेह्रथुमका भूपति श्रेष्ठले दिएको जानकारीअनुसार मेची, कोशी र सगरमाथा अञ्चलका रेडक्रसकर्मी, कर्मचारीसमेत करिब ५० जना बस र जीपमा रहेका थिए।
धनुषाको धारापानी ब्यारेकपूर्वको भीमान गाउँमा १५-२० जना मुखमा पट्टी बाँधेका अज्ञात समूहले गाडी रोकी एक्कासि लौरो र ढुंगाले तोडफोड गर्दा बसभित्र रहेका प्रायः सबै रेडक्रसकर्मीलाई शिशाले लागेर सामान्य घाइते भएको श्रेष्ठले बताए।
आक्रमणकारीहरुले मे. १ ख ९६४, को. १ ख १७५१ नम्बरको बस तोडफोडपछि आगजनी गरेका छन् भने बा. २ च ६००४ नम्बरको जीपको पछाडि मीना सुब्बा, सप्तरीका सदस्य जगदीश अर्याल, झापाका केदार महत, बद्रीबहादुर कार्की, दीपक सापकोटा, उदयपुर रेडक्रसका कर्मचारी दीपक घिमिरेलगायतका बढी घाइते भएका छन्।
घाइते अर्यालको ओठमाथि १० वटा टाँका लगाइएको छ भने घिमिरेको हातमा ब्यान्डेज गर्नुपरेको छ। घाइतेहरु सबैले मंगलबार बिहान जनकपुर अञ्चल अस्पतालमा उपचार गराएका छन्।
सुनसरीका सभापति सुब्बाले रेडक्रसकर्मीमाथि आक्रमण पहिलो घटना भएको र प्रहरी प्रशासनले घटनालाई गम्भीरतापूर्वक नलिई बेवास्ता गरेको भन्दै धनुषाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद रेग्मी, प्रहरी उपरीक्षक लव विष्टका अगाडि आक्रोश व्यक्त गर्नुभएको थियो।
प्रजिअ रेग्मीले बसको क्षतिको विवरण संकलनसहित मुचुल्का गरी क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा पत्राचार गर्ने बताउनुभयो। प्रहरी उपरीक्षक विष्टले सावधानी अपनाउँदाअपनाउँदै घटना भएको र सञ्चारसम्पर्क ढिलो भएको भन्दै घटनाप्रति दुःख व्यक्त गर्दै रेडक्रसकर्मीहरुसँग माफी माग्नुभयो।
धनुषाको रेडक्रस सभाकक्षमा स्थानीय प्रशासन, प्रहरी र पूर्वाञ्चलका रेडक्रसकर्मीबीच भएको छलफलपछि झापाका घाइते केदार महतलाई जनकपुरबाट विमानको टिकटको व्यवस्था गरी काठमाडौं पठाइएको छ।
महाधिवेशनमा सहभागी हुन जाने अन्य रेडक्रसकर्मीहरुलाई जनकपुरबाट जलेश्वर गएर भारतको बाटो हुँदै नेपालगन्ज पुग्ने व्यवस्था मिलाइएको छ।
यो घटनालाई केहीले चुरेभावर एकता समाजले गरेको आरोप लगाइएको छ भने केहीले अज्ञात समूहले गरेको भनेका छन्। |