प्रशासनद्वारा छानबिन औषधि खरिदमा अनियमितता
कान्तिपुर
संखुवासभा, साउन २८ - जिल्ला स्वास्थ्य कार्यालयले बजारभाउ भन्दा चारगुणा बढीसम्म महँगा औषधि किनेर गाउँका स्वास्थ्य संस्थामा पठाएको खुलासा भएको छ । सस्ता औषधि किनेर बढी मूल्यको बिल बनाई अनियमितता गरेको स्रोतले जनाएको छ । अनियमितताको गुनासोपछि प्रशासनले आइतबारदेखि छानबिन थालेको छ ।
बजार मूल्य ६९ पैसा भएको ५ सय एमजीको 'डेक्नोफेलेस' नामक औषधिलाई प्रतिट्याबलेट दुई रुपैयाँ २४ पैसा, चार रुपैयाँ १६ पैसा पर्ने 'एमोक्सोसिलिन' सात रुपैयाँ ५४ पैसामा र जोडीको १० रुपैयाँ पर्ने 'सर्जिकल ग्लोब्स' लाई १८ रुपैयाँ जोडीमा किनेर मादीस्थित स्वास्थ्यचौकीमा पठाइएको अभिलेख फेला परेको छ । बजार मूल्यमै किनिए पनि बील महंगो मूल्यको तयार गरी अनियमितता गरेको स्वास्थ्य कार्यालय स्रोतले उल्लेख गरेको छ ।
सरकारले सिफारिस गरेका १ सय ८० प्रकारका औषधिमध्ये दर्जनभन्दा बढी यस्ता नक्कली बिलबाट खरिद गरिएको पाइएको छ ।
तत्कालीन स्वास्थ्य प्रमुख डा. दयाशंकरलाल कर्णको सोझो आदेशमा महंगा औषधिहरू खरिद गरिएको स्रोतले दाबी गरेको छ । 'लेखाका कर्मचारीसमेतको मिलेमतोमा सोझै अनियमितता भएको छ' स्रोतले भन्यो । अनियमिततामा लेखापाल ठाकुरप्रसाद मिश्र र नायव सुब्बा अजर्ुन खड्काको संलग्नता रहेको जनाइएको छ ।
मिश्र र खड्का भने सरकारी नीतिअनुसार तत्कालीन स्वास्थ्य प्रमुख डा.कर्ण र आफूहरुले बिना टेण्डर औषधी खरिद गरेको बताउूछन् । हालै सरुवा भइआएका स्वास्थ्य प्रमुख डा. सुशीलनाथ प्याकुरेल नियम मिचेर औषधि खरिद गरिएको स्विकार्छन् । 'बिना
टेन्डर औषधि खरिद भएको रहेछ, त्यो ठीक होइन,' उनले भने- 'औषधि खरिद गर्दा टेन्डर गनर्ुपर्छ, यो नियमै हो ।'
अस्पतालले महँगोमा औषधि खरिद गनर्ुको कारणमा लेखापाल मिश्र र नासु खड्का नेपाल सरकारकै स्वामित्वमा रहेको स्थानबाट औषधि किन्दा सात प्रतिशतसम्म महँगो
भए मान्य हुने नियम भएको बताउँछन् । उनीहरूले औषधिको खुद मूल्यभन्दा चार गुनासम्म महँगोमा खरिद गरिएको बारे अनभिज्ञता देखाए ।
जिल्ला जनस्वास्थ्य शाखाका अधिकृत र स्वास्थ्य प्राविधिकसँग समन्वय गर्दै औषधि खरिद गनर्ुपर्नेमा डा. कर्णले लेखापाल र नासुजस्ता अप्राविधिक कर्मचारीसँग समन्वय गरेर औषधि खरिद गरेपछि कर्मचारीले नै अनियमितता भयो भनी आवाज उठाएका थिए । सुनुवाइ नभएको जनस्वास्थ्यका एक कर्मचारीले बताए ।
'यसपटक मात्रै तीन लाख रुपैयाँभन्दा बढी अनियमितता भएको छ,' स्रोतले भन्यो ।
जनस्वास्थ्य निरीक्षक सतीश विष्ट डा. कर्णले आफूसँग छलफलै नगरी औषधि खरिद गरेकाले त्यसबारे केही जानकारी नभएको बताउँछन् । जिल्लामा बेलायती सहयोगमा बि्रटेन-नेपाल मेडिकल ट्रस्टले पूरक औषधि व्यवस्था कार्यक्रम लागू गरेको छ ।
उसले उपलब्ध गराउने औषधिको मूल्य र खरिद गरिएको औषधि मूल्यअन्तर चार सय प्रतिशतसम्म रहेको कार्यालयकै अभिलेखबाट प्रस्ट देखिन्छ । डा. कर्ण हालै सरुवा भएर इलाम पुगेका छन् ।
यसैबीच औषधि खरिदमा भएको अनियमितताबारे प्रशासनले छानबिन सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी मुकुन्द अधिकारीका अनुसार औषधि खरिदमा अनियमितता भएको गुनासो आएपछि आइतबारदेखि आवश्यक छानबिन सुरु गरिएको छ । 'छानबिनमा दोषी पाइएकालाई कारबाही गरिनेछ,' अधिकारीले भने ।