डडेल्धुरामा औलो फैलियो
कान्तिपुर
डडेल्धुरा, साउन २७ - पहाडी जिल्ला डडेल्धुरामा पहिलोपटक औलोको महामारी फैलिएको छ ।
लामखुट्टेबाट सर्ने मलेरिया रोग राज्यले धेरै वर्षपहिले उन्मूलन भएको घोषणा गरेको भए पनि डडेल्धुरा जिल्लाको पहाडी भागमा फैलिएको छ ।
मलेरियाबाट प्रभावित १४ बिमारी डडेल्धुराको टिम अस्पताल भर्ना भएको प्र्रबन्धक पावल क्षेत्रीले बताए । जिल्ल्ााको भित्रीमधेस रहेको जोगबुढा आलीताल र शीर्षको गाविसमा मलेरिया प्रकोपले सयौं व्यक्ति प्रभावित छन् । हरेक गाउँमा मलेरियाबाट प्रभावित दर्जनौं बिरामी सदरमुकाम डडेल्धुरामा डाक्टर र औषधि नभएका कारण उपचारका लागि कैलालीको धनगढी जान थालेका छन् ।
जिल्लाको आधाभन्दा बढी जनसंख्या रहेको भित्रीमधेस क्षेत्रमा आधा दर्जन स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा समेत स्वास्थ्यकर्मी र औषधि नभएका कारण सर्वसाधारण प्रभावित भएका छन् । गाउँमा भएका स्वास्थ्य चौकीमा सिटामोल पनि छैन ।
जिल्ला जनस्वास्थ्य अधिकृत शिवराज भट्टले तराईबाट आउने गाडीमा लामखुट्टे आएको र त्यसकै टोकाइबाट मलेरिया फैलिएको जनाएका छन् ।
एसएलसी पूरक परीक्षा दिन सदरमुकाम पुगेका कयौं विद्यार्थी मलेरियाबाट प्रभावित भएका छन् । जिल्ल्ााको जोगबुढा क्षेत्रमा जनस्वास्थ्यले मलेरियाविरुद्धको औषधि पठाए पनि त्यस क्षेत्रमा कुनै औषधि नछर्किएको स्थानीय बासिन्दाल जनाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले स्थानीय संस्थाहरूले औषधि छर्किर्दिए भने औषधि पठाइने जनाएको छ ।