उपचार नपाएर मृत्यु
कान्तिपुर
हेटौंडा, साउन २५ - स्वास्थ्यचौकीमा चिकित्सक नभएकाले एक गर्भवती महिलाको उपचार नपाएर मृत्यु भएको छ ।
डाँडाखर्क गाविसस्थित स्वास्थ्य चौकीमा गर्भवती चित्रकुमारी थिङको उपचारका लागि ल्याइएको थियो । त्यहाँ उपचार हुन नपाएपछि पालुङमा बोकेर ल्याउँदै गर्दा बुधबार बाटैमा मृत्यु भएको हो । २० वर्षे थिङलाई सुत्केरी व्यथा लागेको थियो । समयमै उपचार नपाएकाले उनको मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पालुङले बताएको छ । जिल्लाको अत्यन्त विकट गाविसस्थित उक्त स्वास्थ्य चौकी गत ४ गतेदेखि बन्द छ ।
अहेव चन्द्रकिशोर साह गत असार महिनाको पहिलो सातादेखि स्वास्थ्य चौकीमा उपस्थित भएका छैनन् । अन्य स्वास्थ्यकर्मी साउन ४ गतेदेखि नआएको गाविसका पूर्वअध्यक्ष्ा सालिकराम थिङले बताए । 'स्वास्थ्य चौकीमा चिकित्सक भएको भए गर्भवती थिङको मृत्यु हुने थिएन,' उनले भने । उक्त गाविसका बासिन्दा उपचारका निम्ति ७ घन्टा पैदल हिंडेर पालुङ आउन बाध्य छन् ।