अज्ञात रोगले तीन शरणार्थीको मृत्यु ६० बिरामी
कान्तिपुर
विराटनगर, साउन २० - विषालु माछा खाएपछि बिरामी परेका मोरङको पथरीस्थित भुटानी शरणार्थी शिविरमा दुई दिनयता तीन युवकको मृत्यु भएको छ । ६० भन्दा बढी शरणार्थी बिरामी परेका छन् । विषालु माछा खाएपछि बिरामी पर्न थालेका भए पनि चिकिसत्सकले मृत्युको कारण यकिन भइनसकेको जनाएका छन् ।
माछा खाएपछि केही दिनयता बिरामी परेका शरणार्थीमध्ये उपचार क्रममा शुक्रवार राति र शनिवार गरी १५ वषर्ीय रघुनाथ मिश्र, १५ वषर्ीय कमल सुवेदी र १७ वषर्ीय भागीमान तामाङको मृत्यु भएको हो ।
पथरी शिविर प्रमुख महेन्द्र भट्टराईका अनुसार बिरामी पर्नेमा सबैजसो १० देखि २० वर्ष उमेरका छन् । मृत्यु हुनेहरू शिविरको जी-४ सेक्टरका छन् । दमकस्थित आम्दा अस्पतालमा शनिवार बेलुकामात्रै ५० भन्दा बढी बिरामी उपचारनिम्ति पुर्*याइएका छन् । आम्दाले सबैजसोलाई विराटनगरस्थित कोसी अञ्चल अस्पताल रिफर गरे पनि बेलुका अबेरसम्म ल्याइएको थिएन । यसअघि दिउँसो ल्याइएका १० मध्ये ७ जनालाई धरानस्थित वीपी अस्पताल रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।
पथरी शिविर नजिकको डास खोलामा १२ दिनअघि विषादी प्रयोग गरी मारेको माछा खाएपछि उनीहरू बिरामी परेको शिविरका गोविन्द मिश्रले बताए । उनीहरूलाई ज्वरो आउने, पेट र छाती दुख्ने, रिंगटा लाग्ने र नाकमुखबाट रक्तश्राव भएको थियो । रगत बग्न थालेको केहीबेरमा उनीहरूको मृत्यु भएको थियो ।
चिकित्सकले त्यति लामो समयअघि खाएको माछाकै एकमात्र कारणले मृत्यु भएको कुरालाई यकिन गरेका छैनन् । भुटानी शरणार्थीका लागि प्राथमिक स्वास्थ्य परियोजनाका संयोजक डा. निर्मल रिमालका अनुसार मृत्यु र बिरामीको लक्षण हेर्दा विषालु माछाकै कारण हो भनेर ठोकुवा गर्न सकिने अवस्था छैन । उनले मृतकको शव परीक्षणपछि 'टेक्सिकोलोजिकल' केही सघन परीक्षणपछि कारण पत्ता लाग्नसक्ने बताए । 'माछा मात्र कारण नहुन सक्छ' उनले भने । यसैबीच शनिवार अपराह्न राष्ट्रसंघीय शरणार्थी उच्चायोगका दमकस्थित कार्यालयका स्वास्थ्य प्रमुख डा. सत्या, आम्दा
अस्पतालका डा. प्रदीप दाहाललगायतको टोलीले प्रभावित शरणार्थी र क्षेत्रको निरीक्षण गरेको थियो । आम्दा अस्पतालका चिकित्सकले सबैजसो बिरामीमा समान लक्षण देखिएको जनाएका छन् ।