| अस्पताल जग्गाको भाडा ठगी अस्पताल जग्गाको भाडा ठगी
कान्तिपुर
बुटवल, साउन १४ - लुम्बिनी अञ्चल अस्पताललाई जग्गाको भाडाबापत बुझाउनुपर्ने १३ लाख रुपैयाँ नतिरी बुटवल डिजल सेन्टरका प्रोपराइटर रियाज अहमदले पेट्रोल पम्प बिक्री गरी फरार भएका छन् ।
उनले कारोबार अवधिभर पम्प बिक्री र बहालमा नदिने भनी अस्पतालसँग गरेको सम्झौतापत्रको दफा ८ उल्लंघन गरी यस्तो कार्य गरेका छन् । अस्पतालको जग्गामा रहेको पम्प उनले एक महिनाअघि बिक्री गरेका हुन् ।
समयमा भाडा चुक्ता नगरी ठगी गरेको भनी रुपन्देही, जिल्ला अदालतमा अस्पतालले हालेको मुद्दा फैसला हुन बाँकी रहेको अवस्थामै उनले पम्प स्थानीय गैरे समूहलाई १६ लाखमा बिक्री गरेका हुन् । अहमद बुटवल-२ का बासिन्दा हुन् ।
२०५३ सालमा तीन वर्षका लागि जग्गा भाडामा लिएका उनले हालसम्म भाडा नै नतिरी पम्प सञ्चालन गर्दै आएका थिए । लेखा शाखाका अनुसार उनले अस्पताललाई २०६३ असार मसान्तसम्म १३ लाख २९ हजार ३ सय ५३ रुपैयाँ बुझाउन बाँकी छ ।
अस्पतालका अनुसार अहमदले तीनवर्षे सम्झौतालाई कीर्ते गरी २०६८ सालसम्म पुर्*याएका थिए । त्यसपछि उनी र अस्पतालबीच विवाद बढेको थियो । शाही शासनमा सेनालाई पेट्रोल र डिजल उपलब्ध गराएर टिकेको भए पनि हाल रकम चुक्ता गर्नबाट उम्किन पम्म बिक्री गरी फरार भएको अस्पतालले जनाएको छ ।
उनले अस्पताल विकास समिति विघटन भएको र अस्पतालमा मेसु नभएको मौका छोपी बिक्री गरेका हुन । पम्पको प्रोपराइटर उनी भए पनि यसमा यहाँका अन्य व्यापारीको पनि लगानी रहेको थियो । स्राेतका अनुसार अन्य १४ जना व्यापारीले यसमा सेयर हालेका थिए । |  Article Tools | | |
 Featured Articles | | | | | |