अत्यधिक ज्वरोले तीनको मृत्यु कान्तिपुर
संखुवासभा, साउन १२ - जिल्लाको दुर्गम मूलखर्क गाविस-४ र ६ मा अत्यधिक ज्वरोले बिहीबार तीन बृद्धाको मृत्यु भएको छ । गाउँलेले ज्वरोका कारण अरू पनि प्रभावित भएको खबर गरेपछि अवस्था बुझ्न र उपचार निम्ति टोली पठाइएको छ ।
गाउँका ७५ वषर्ीया हर्कमाया श्रेष्ठ, ७६ वषर्ीया दिलमाया श्रेष्ठ र ७८ वषर्ीया मुनीमाया तामाङको मृत्यु भएको गाविस सचिव द्रोणाचार्य दाहालले बताए । हिंडेर दुई दिनमा पुगिने उक्त गाउँमा ज्वरो आउने, वान्ता हुनेजस्ता लक्षण देखिएको गाउँलेले बताएका छन् ।
अहेब सुरेशराज दाहालसहितको टोली प्रभावित पूर्वको उक्त गाउँका लागि औषधिसहित सदरमुकामबाट शुक्रवार दिउँसो हिंडेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
साताअघि हटिया गाविसमा अज्ञात रोगले सात गाउँलेको मृत्यु भएको थियो । ८० प्रभावित रहेको उक्त गाउँमा सदरमुकामबाट गएको टोलीले उपचार गरिरहेको जनाइए पनि पछिल्लो अवस्थाबारे जानकारी आइनसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।