इन्सेफ्लाइटिसविरुद्ध खोप
कान्तिपुर
भैरहवा, साउन ७ - तराईमा महामारीको रूपमा फैलिने जापानिज इन्सेफ्लाइटिस रोगको नियन्त्रणका लागि रुपन्देहीमा १५ वर्ष वर्षमुनिका बालबालिकालाई खोप अभियान सञ्चालन गरिएको छ । ३ लाख १० हजार बालबालिकालाई खोप दिइनेछ । जिल्ला जनस्वास्थ्य कार्यालयले साउनको सुरुदेखि सञ्चालन गरिएको यस खोप अभियानअन्तर्गत जिल्लाभरि कुल ७ सय ७७ वटा खोप केन्द्रबाट जिल्लाका १५ वर्षमुनिका कुल ३ लाख १० हजार बालबालिकालाई खोप दिने जनाएको छ । रुपन्देही जिल्लामा रहेका विभिन्न चारवटा ठूला अस्पतालमा गत वर्ष यस रोगको महामारीबाट उपचारका लागि आएका बिरामीको संख्या ४ सय ५० मध्ये ५४ जनाको मृत्यु भएको थियो ।विसं १९७८ मा पहिलोपटक रुपन्देहीमा देखा परेको यस रोग हाल २४ जिल्लामा देखा परेको छ । नेपालमा गत वर्ष यस रोगको महामारीबाट १ हजार ५ सय संक्रमित भएका थिए । डेढ सयजना भन्दा धेरैको मृत्यु भएको थियो । दाङ, बर्दिया, बाँके, कैलाली, कञ्चनपुर र रुपन्देही जिल्ला यस रोगको महामारीबाट अति प्रभावित भएकाले खोप अभियान सञ्चालन गरिएको छ । लामखुट्टेबाट सर्ने यस रोगले संक्रमित बिरामीमध्ये २० प्रतिशतको मृत्यु हुने, ४५ देखि ७० प्रतिशत बिरामीलाई दुई वर्षसम्म विभिन्न पक्षघात हुने, त्यसपछि उपचार गराएमा ७० प्रतिशतलाई निको हुने र बाँकी जिन्दगीभर अपांग तथा पक्षघात हुने गरेको चिकित्सकहरू दाबी गर्छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म यस रोगबाट नेपालमा ५ हजार ३ सयभन्दा धेरैको मृत्यु भइसकेको छ र रोगको महामारी बर्सेनि बढ्दै गएको छ ।