१३ वर्षपछि हैजा जीवाणु
कान्तिपुर, खुमानसिं तामाङ
काभ्रे, साउन ७ - झन्डै डेढ दशकपछि नेपालमा हैजाका चार बिरामी फेला परेका छन् । एक सातायता जिल्लाका विभिन्न ठाउँमा भएको स्वास्थ्य जाँचमा हैजाका बिरामी भेटिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पनौतीका ७२ वषर्ीय पूर्णभक्त मधिकर्मी, काभ्रेका ४४ वषर्ीय प्रीतमाया श्रेष्ठ, साँगाका ३२ वषर्ीया चोलादेवी पाठक र नरबहादुर विकमा हैजाका जीवाणु फेला परेको हो । बिरामी परेपछि धुलिखेल सामुदायिक अस्पतालमा भर्ना भएका उनीहरूमा उपचारपछि घर फर्किसकेका छन् । १३ वर्षअघि काठमाडौंका चार रोगीमा यो जीवाणु देखा परेको थियो । त्यसपछि अधिराज्यभर कतै नदेखिएको जनस्वास्थ्य कार्यालयका प्रमुख गंगाराज अर्यालले बताए । 'छिट्टै उपचार गरिएकाले अरूलाई भाग्यवश सर्न पाएन,' उनले भने । हैजा देखिएपछि जनस्वास्थ्य कार्यालयले जिल्लाभरका स्वास्थ्य केन्द्रहरूलाई सतर्कता अपनाउन सचेत गराएको छ । 'यो निकै ठूलो घटना भएकोले राष्ट्र नै सतर्क हुनुपर्ने अवस्था छ,' उनले भने ।जनस्वास्थ्य कार्यालयले रोग नियन्त्रण महाशाखामा हैजाको महामारीबारे जानकारी गराइसकेको छ । उक्त क्षेत्रमा उपचारका लागि जनस्वास्थ्य कार्यालयले उपचारका लागि स्वास्थ्यकर्मीको टोली खटाएको छ । दूषित खाना र पानीले यो रोग लाग्छ । पानी मात्र उमालेर खाए हैजाबाट धेरै सुरक्षित हुनसक्ने अर्यालले बताए । रोग लागेपछि छिट्टै जलवियोजन भएर रोगीको मृत्यु पनि हुनसक्छ । 'खानपिनमा ध्यान दिनु र तुरुन्त उपचार गर्नु नै हैजाबाट जोगिने मुख्य उपाय हो,' उनले भने । १३ वर्षअघि सन् १९९३ नेपाललगायत एसियाका सात राष्ट्रमा हैजा देखिएको थियो ।