| उपचारका नाममा करोड बढी वितरण उपचारका नाममा करोड बढी वितरण
परेवा न्युज, लीलाराजखनाल/स्वससे
प्रतिनिधिसभा विघटन भएको अवस्थामा स्वास्थ्य उपचारका नाममा सरकारले लाखौं रुपैयाँ वितरण गरेको रहस्य खुलेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०५९ साउन २८ देखि ०६३ बैशाख ५ गतेसम्म यसरी रकम लिनेहरुको नामावली तयार पारेको थाहा भएको छ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५९ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेपछि स्वास्थ्य उपचारका नाममा अनियमित ढंगले रकम वितरण गरिएको थियो।
हामीलाई प्राप्त जानकारीअनुसार पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टर्राईदेखि लिएर पत्रकार हरिहर विरहीसम्मले लाखौं रुपैयाँ स्वास्थ्य उपचारका नाममा लिएका छन् ।
पूर्व प्रधानमन्त्री भट्टराईले पटकपटक गरी ५ लाख ६७ हजारभन्दा बढी, राप्रपाका नेता पद्मसुन्दर लावतीले ५ लाख, अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्माले ७ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम लिएका छन् ।
आर्थिक वर्ष०५९/०६० मा स्वास्थ्य उपचारका नाममा रकम लिनेहरुमा राष्ट्रियसभाका पूर्व अध्यक्ष वेनीबहादुर कार्की -१ लाख, उपाध्यक्ष चिरञ्जीवीप्रसाद रिजाल¬ -२ लाख, राष्ट्रिय जनशक्ति पार्टीका बुद्धिमान तामाङ -१ लाख ५० हजार रहेका छन् ।
त्यसैगरी आ.व. ०६०/०६१ मा रकम लिनेहरुमा पूर्व सांसद विष्णु मादेन -१ लाख, पूर्वमन्त्री धर्मबहादुर गुरुङ -५० हजार, नेकपा एमालेका नेता मोहनचन्द्र अधिकारी -१ लाख, एमालेका पूर्व सांसद नरबहादुर हमाल -६० हजार, कांग्रेसका पूर्व सांसद शिलुप्यारी कर्माचार्य -५० हजार, जनमोर्चाका नेता गोविन्दसिंह थापा -४० हजार, राष्ट्रिय जनशक्ति पार्टीका हरिबहादुर थापा -५० हजार, विघटित राजपरिषद् स्थायी समितिका सभापति परशुनारायण चौधरी -५० हजार, पत्रकार पवन थापा कुन्तल -५० हजार, धावक वैकुण्ठ मानन्धर -२ लाख, पूर्व मन्त्री धर्मराज थापा -४० हजार, एमालेका पूर्व सांसद विनोदकुमार शाह -४ लाख ५० हजार, कांग्रेसकी पूर्व सांसद अम्बिका पन्त चापागाइँ -१ लाख र नेपाल सद्भावना पार्टीका सांसद यज्ञजीत साह -१ लाख रहेका छन्।
आ.व. ०६१/०६२ मा एमाले मोरङका नेता लव प्रधान -१ लाख, प्रजातान्त्रिक कांग्रेसका अमरराज कैनी -३ लाख ७५ हजार, पूर्व राज्यमन्त्री महेश चौधरी -३० हजार, एमालेका पूर्व सांसद नरबहादुर हमाल -५० हजार, झापाका कांग्रेस नेता -२५ हजार, पत्रकार मुरारीप्रसाद गौतम -५० हजार, पूर्व अर्थमन्त्री मधुकर शमशेर जबरा -५० हजार र पत्रकार हरिहर विरही -१ लाखले स्वास्थ्य उपचारका नाममा रकम लिएका छन् ।
यसैगरी आ.व. ०६२/०६३ मा लोकसेवा आयोगका अध्यक्ष तीर्थमान शाक्यले २ लाख, काठमाडौंका प्रमुख जिल्ला अधिकारी स्थानेश्वर देवकोटाले १ लाख र राष्ट्रियसभाका पूर्व उपाध्यक्ष चिरञ्जीवीप्रसाद रिजालले १ लाख रुपैयाँ लिएका छन् ।
स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको प्रतिवेदनअनुसार आ.ब. ०५९/०६० मा औषधि उपचार आर्थिक सहायता वापत २६ लाख ६५ हजार, आ.ब. ०६०/०६१ मा ७५ लाख ४९ हजार, आ.ब. ०६१/०६२ मा ७५ लाख ३५ हजार ५ सय ९१ र आ.ब. ०६२/०६३ मा ९ लाख ५५ हजार रुपैयाँ प्रदान गरिएको उल्लेख छ ।
स्वास्थ्य उपचारका नाममा आर्थिक वर्ष०५९/०६० मा २५, ०६०/०६१ मा २ सय ३२, ०६१/०६२ मा १ सय ५० र ०६२/०६३ मा ४९ जनाले रकम लिएको प्रतिवेदनमा जनाइएको छ ।
पूर्व प्रधानमन्त्री भट्टर्राई, अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलगायत केही पूर्व सांसदहरुले २ पटकभन्दा बढी फरक¬-फरक मितिमा रकम लिएका छन् । |  Article Tools | | |
 Featured Articles | | | | | |