नेपाल समाचारपत्र (काभ्रे) उपचारका क्रममा बिरामीको मृत्यु भएको विषयलाई लिएर केही व्यक्तिहरूको समूहले अस्पताल तोडफोड गरेपछि धुलिखेल अस्पतालले मंगलबार आकस्मिक र अन्तरंग सेवाबाहेक अन्य सम्पूर्ण सेवाहरू बन्द गरेको छ।
यसै खालको बन्द आज पनि गरिने जनाइएको छ।
गत साउन २९ गते प्रसूति ब्यथा लागेर भर्ना भएकीे फोक्सिङटार गाविस-३ निवासी २२ वषिर्या सविना लामाको आइतबार राति १० बजे मृत्यु भएपछि पीडित पक्षले चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै सोमबार दिनभर अस्पताल हाताभित्र विरोध प्रदर्शन गरी अस्पताल तोडफोडसमेत गरेका थिए।
मंगलबार अस्पताल प्रशासनले पत्रकार सम्मेलनको आयोजना गरी यस्ता किसिमका घटनाले अस्पतालका चिकित्सक, कर्मचारी, विद्यार्थी, उपचारका लागि आएका र भर्ना भएका बिरामी सबै विचलित भएको जनाउँदै घटनाको भर्त्सना गरेको छ। काठमाडौं विश्वविद्यालयको शिक्षण अस्पतालसमेत रहेको धुलिखेल अस्पतालले घटनाको विरोध जनाउँदै दुइ दिनसम्म सम्पूर्ण शैक्षिक कार्यक्रमसमेत बन्द गरेको थियो।
पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक प्रा. डा. रामकण्ठ माकजू श्रेष्ठले अस्पतालले कुनै पनि गल्ती नगरेको बताउँदै आइन्दा यस्तो घटना हुन नदिन सबै सचेत हुनुपर्ने धारणा राख्नुभएको थियो। सम्मेलनमा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. सुरेशराज शर्माले यस्तो घटनाले सेवा गर्न खोज्ने तत्त्व नै निराश हुनुपर्ने अवस्था आउने बताउनुभयो।
अस्पतालका प्रशासकीय निर्देशक डा. राजेन्द्र कोजुले हस्ताक्षर गरी जारी विज्ञप्तिमा अस्पताल तोडफोडमा संलग्न व्यक्तिहरूको कारबाहीका लागि मागसमेत गरिएको छ। घटनाको समाचार संकलन गर्न गएका पत्रकारमाथि हातपात गरिएकोमा नेपाल पत्रकार महासंघले त्यसको भर्त्सना गरेको छ। -
Source