दुई महिनादेखि बन्द वीर अस्पतालको सिटीस्क्यान सेवा अझै सञ्चालनमा आउन सकेको छैन । मेसिन नचल्दा सिटीस्क्यान गराउनुपर्ने बिरामी महँगो शुल्क तिर्न
बाध्य छन् ।
अस्पतालले सिटीस्क्यान गराउनुपर्ने बिरामीलाई अन्यत्रै पठाउने गरेको छ ।
'सिटीस्क्यान गराउनुपर्ने बिरामीलाई टिचिङ पठाउने गरेका छौँ,' वीर अस्पताल सिटीस्क्यान विभाग प्रमुख मुकुन्द पन्थीले भने । दुर्घटनामा परी आकस्मिक उपचारका लागि अस्पताल ल्याइएका बिरामीसमेत सिटीस्क्यानका लागि बाहिर पठाउने गरेको उनले बताए ।
वीरको सिटीस्क्यान मेसिन जापानिज कम्पनी 'सिमाजु' को हो । बढी भोल्टको विद्युत् आपूर्तिका कारण मेसिनको हार्डडिक्स जलेपछि सिटीस्क्यान बन्द भएको हो । जलेको पार्टपुर्जा जापानबाटै मगाउनुपर्ने हुनाले समय लागेको अस्पतालका निर्देशक डा. श्रवणकुमार चौधरीले नयाँ पत्रिकालाई बताए ।
'जापानबाट सामान मगाउनुपर्ने भएकाले समय लागेको हो,' उनले भने । मेसिनको आवश्यक पार्टपुर्जा मगाइसकेको र भन्सारमा रोकिएको उनले जानकारी दिए ।
'भन्सार छुटाउन स्वास्थ्य मन्त्रालयमार्फत अर्थ मन्त्रालमा चिठ्ठी गइकेको छ,' चौधरीले भने, 'अर्थले सामान छाड्नेबित्तिकै हामी सञ्चालनमा ल्याउँछौँ,' उनले भने । तर, कहिलेसम्म सिटीस्क्यान सञ्चालनमा आउँछ भन्न नसकिने उनले बताए । 'अर्थ मन्त्रालयले सामान छाडेपछि मात्र सञ्चालनमा ल्याउन सक्छाँ, अर्थले कहिले छाड्छ त्यो मलाई थाहा छैन,' उनले भने ।
वीर अस्पतालले अन्यत्रभन्दा सस्तोमा सिटीस्क्यान गराउँदै आएको थियो । 'निजी अस्पतालमा यहाँभन्दा दोब्बर महँगो छ,' पन्थीले भने । पेटको सिटीस्क्यान गरेको वीर अस्पतालले २२ सय लिँदै आएको र अस्पतालमा ४५ सय पर्ने उनको भनाइ थियो ।
kya ho yasto?

