नयाँ वर्षको पहिलो दिनबाट नेपालमै मिर्गौला प्रत्यारोपण सुरु हुने भएको छ । मुलुककै जेठो अस्पताल वीरले पहिलोपटक आउँदो १ वैशाखदेखि मिर्गौला प्रत्यारोपण थाल्न लागेको हो ।
मुलुकभित्रै सेवा सुरु भएपछि मिर्गौला रोगीहरूले मोटो रकम खर्चेर भारत जानुपर्ने बाध्यता हट्नेछ । सरकारले मिर्गौला प्रत्यारोपणको एकल अख्तियारी वीर अस्पताललाई दिएको छ ।
'हामी नयाँ वर्षदेखि मिर्गौला प्रत्यारोपण सुरु गर्दैछौं,' वीर अस्पतालका निर्देशक डा. श्रवण चौधरीले नयाँ पत्रिकासँग भने । चौधरीका अनुसार, यो सेवाका लागि डा. अशोक राणाको नेतृत्वमा आठ सदस्यीय टोली तयार गरिएको छ । बेलायतबाट विशेषज्ञ झिकाएर प्रत्यारोपण थाल्ने योजना भए पनि नेपाली चिकित्सकहरूले आफैं सक्षम रहेको विश्वास दिलाएका छन् ।
चौधरीले भने, 'विदेशी विशेषज्ञ ल्याउने-नल्याउने टुंगो लागिसकेको छैन, तर १ वैशाखदेखि मिर्गौला प्रत्यारोपण सुरु हुने निश्चित भएको छ ।'
सरकारले मिर्गौला प्रत्यारोपण गर्न इच्छुक अस्पतालहरूको अध्ययन गरी अनुमति प्रदान गर्न हालै डा. बिआर जोशीको अध्यक्षतामा अंग प्रत्यारोपण समन्वय समिति गठन गरेको छ । सो समितिका सदस्य डा. ऋषिकुमार काफ्लेले मिर्गौला प्रत्यारोपणका लागि प्राविधिक रूपमा वीर अस्पताल सक्षम रहेको बताए ।
'वीर अस्पतालसँग आवश्यक पूर्वाधार छ,' उनले भने, 'उसले चाह्यो भने नसक्ने कुरै छैन ।' हालसम्म नेपालमा मिर्गौला प्रत्यारोपण हुन नसक्नुमा उनले वीरकै दोष औंल्याए । समितिले अन्य इच्छुक अस्पतालको पनि अनुगमन गरेर प्रत्यारोपण अनुमति प्रदान गर्न सक्ने काफ्लेले जानकारी दिए । उनका अनुसार टिचिङ अस्पतालले पनि चाँडै यस्तो अनुमति पाउन सक्छ ।
सरकारले २०५५ सालमा अंग प्रत्यारोपणसम्बन्धी ऐन र २०५८ मा नियमावली ल्याएर मिर्गौला प्रत्यारोपणका लागि कानुनी बाटो खोलेको थियो । नियमावली ल्याएलगत्तै अंग प्रत्यारोपणसम्बन्धी समिति गठन गरिए पनि सो समिति पछि निष्त्रिmय भएको थियो ।
हरेक वर्ष ७० देखि ८० जना नेपालीले भारतमा मिर्गौला प्रत्यारोपण गराउने गरेको अनुमान छ । चिकित्सहरूका अनुसार भारतमा गएर प्रत्यारोपण गराउँदा मिर्गौलाको मूल्यबाहेक आठदेखि १० लाख रुपैयाँ खर्च हुन्छ । यद्यपि, मिर्गौला फेरेर पनि समस्या सकिँदैन । मिर्गौला फेरेकाले संक्रमण रोक्न प्रत्येक महिना साढे दुई हजारसम्मको औषधि नियमित खानैपर्छ ।
'एक वा दुई दिनमात्र औषधि सेवन गरेन भने मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति पनि बाँच्दैन,' राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशकसमेत रहेका डा. काफ्लेले भने ।
महँगो खर्चका कारण मिर्गौला प्रत्यारोपण सर्वसाधारण नेपालीको पहँुचबाहिर छ । उपचार गर्न नसकेर हरेक वर्ष दुई हजार पाँच सय नेपालीको मृत्यु हुने गरेको छ भने त्यत्ति नै संख्यामा नयाँ रोगी थपिन्छन् । केन्द्रका अनुसार नेपालमा अनुमानित २७ हजारभन्दा बढी मिर्गाैलाका रोगी छन् भने उनीहरूमध्ये दुई हजार सात सयजना मिर्गौला फेर्नुपर्ने अवस्थाका छन् ।
त्यसो त डायलसिस -रगत सफा) गरेर मिर्गौला रोगीलाई ज्युँदो राख्न सकिन्छ । यो सेवा नेपालको त्रिवि शिक्षण अस्पताल, वीर, बी एन्ड बी, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल, ब्लु क्रस र राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्रमा उपलब्ध छ । यद्यपि, महँगो शुल्कका कारण रोगीहरूले नियमित डायलसिस गर्न सक्दैनन् । एकपटक डायलसिस गर्न दुई हजार लाग्छ र यो सातामा तीनपटक गर्नुपर्छ ।
चिकित्सकहरूका अनुसार मिर्गौला रोग वंशानुगत पनि हो । विशेषगरी ब्लडप्रेसर, डाइबिटिजले गाँज्दै लगेपछि र जथाभावी औषधि सेवन गर्ने जोकोहीलाई यो रोगले समात्न सक्छ ।
मिर्गौला दिवस मनाइयो
'के तपाईंको मिर्गौला ठीक छ' भन्ने नाराका साथ तेस्रो विश्व मिर्गौला दिवस नेपालमा पनि मनाइयो । शिक्षण अस्पताल मिर्गाैला रोग विभाग र चिकित्साशास्त्रमा अध्ययनरत ६ सयभन्दा बढी विद्यार्थीले अस्पतालहातामा निःशुल्क मिर्गौला परीक्षण गरे ।
राष्ट्रिय मिर्गौला केन्द्रले पनि मिर्गौला दिवसका अवसरमा निःशुल्क मिर्गौला परीक्षण गरेको छ । केन्द्रलाई जर्मनीको संस्थाले १० ओटा नयाँ डायलासिस मेसिन प्रदान गरेको छ । संस्थाले थप २० मिसन दिने भएको छ । केन्द्रसँग रहेका सबै मेसिन अनुदानमा पाएको कार्यकारी निर्देशक डा. ऋषि काफ्लेले बताए । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक १० जना मिर्गौला रोगीमध्ये एकजनाको मिर्गौला फेल हुने गरेको छ ।
अब घरमै डायलाइसिस
अर्जुन पौडेल/नयाँ पत्रिका
काठमाडौं, ३० फागुन मिर्गौला रोगीहरूले अब घरमै बसेर आफंै मिर्गौलाको डायलसिस गर्न सक्ने भएका छन् । विश्व मिर्गौला दिवसको अवसर पारेर शिक्षण अस्पतालले पहिलोपटक पि्रटोनियल डायलसिस सेवा सुरु गरेपछि यस्तो सम्भव भएको हो । त्यसका लागि बिरामीले चिकित्सकको सहयोगमा पेटमा स्थायी रूपमा क्याथर ट्युब जडान गर्नुपर्छ ।
क्याथर ट्युबमार्फत पेटमा औषधि-पानी पठाइने शिक्षण अस्पतालकी मिर्गौला रोग विशेषज्ञ डा. दिव्याले बताइन् । 'पानी पठाउन १५ मिनेट लाग्छ, त्यसपछि बिरामीले हिँडडुल र काम गर्न सक्छन्,' उनले भनिन् । आठ घन्टापछि पानी बाहिर निकाल्नुपर्ने उनले जानकारी दिइन् । बिरामीले पि्रटोनियल डायलसिस २४ घन्टा गर्नुपर्ने उनको भनाइ थयो ।
'अस्पतालमा डायलसिस गर्दा हप्तामा तीनपटक गरे हुन्छ, घरमा दिनको तीनपटक गर्नुपर्छ,' उनले भनिन् । डायलसिस सेवा नभएको जिल्लाका बिरामीले पनि घरमै सेवा लिनसक्ने उनको भनाइ थियो । यो प्रविधिबाट होमो डायलसिसको जस्तो दैनिक जीवनमा असर नगर्ने, खाना बार्न नपर्ने र सुई घोप्न नपर्ने चिकित्सकहरू बताउँछन् । पि्रटोनियल डायलसिस सेवाका लागि करिब २६ हजारबराबरको उपकरण किन्नुपर्छ ।
'क्याथर ट्युब छुट्टै किन्नुपर्छ, त्यसको १० हजार लाग्छ,' नेफ्रोलोजी वार्ड नर्सिङ प्रमुख ज्ञानु गुरुङले भनिन् । प्रिटोनियल डायलसिस गराउन चाहने बिरामीलाई अस्पतालले एकहप्ते तालिम दिने उनले जानकारी दिइन् । अस्पतालले बिहीबारबाट सेवा सुरु गरेको भए पनि यसअघि नै सातजनाले तालिम पाइसकेको उनको भनाइ थियो । प्रिटोनियल डायलसिसको खर्च पनि होमो डायलसिसबराबर नै लाग्ने डा. दिव्याले बताइन् ।
मिर्गौला फेरेका नेताहरू
मिर्गौलासम्बन्धी रोगले राजनीतिक क्षेत्रका व्यक्तिहरू पनि पीडित छन् । मिर्गौला फेरेका शाहीमन्त्री नारायणसिंह पुन (५९) को भारतमा उपचार गर्दागर्दै हालै मृत्यु भएको छ । मिर्गौला रोगकै कारण राजनीतिज्ञ डा. डिल्लीरमण रेग्मीको मृत्यु भएको थियो ।
हाल राजनीतिमा सक्रिय नेताहरूमध्ये एमालेका केपी ओली मिर्गाैला रोगबाट पीडित छन् । उपप्रधानमन्त्री हुँदा भारतमा गएर मिर्गौला फेरेका उनी अहिले चुनावको दौडधुपमा छन् । ओली उपप्रधानमन्त्री रहेकै बेला उनलाई उपचारमा लाग्ने सबै खर्च सरकारले व्यहोर्ने निर्णय मन्त्रिपरिषद्बाटै भएको थियो । यद्यपि, उनले स्वास्थ्य मन्त्रालयबाट अहिलेसम्म बिल-भर्पाई पेस गरेर पैसा नबुझेको मन्त्रालयका एक अधिकृतले बताए ।
शाहीकालका अर्थमन्त्री मधुकरशमशेर जबराले पनि भारतमा गएर मिर्गौला फेरेका थिए । ओली र जबरा दुवैले कसबाट मिर्गौला लिएको भनेर जवाफ दिन मानेनन् । चार वर्षअघि सरकारसँग पाँच लाख रुपैयाँ आर्थिक सहयोग लिएर मिर्गौला फेरेका जबराले 'मिर्गौलाको विषय विवादास्पद भएकाले केही नबताउने' जवाफ दिए भने ओलीले 'धेरै बोल्नु उचित नठानेको' बताए । मिर्गौलाबारे जिज्ञासा राख्दा जबराले 'मलाई मुलुकको आर्थिक कुरा मात्र सोध्नु' भनेर टेलिफोन राखिदिए ।
ओली निकटस्थका अनुसार उनले आफ्ना नजिकका आफन्तबाट मिर्गौला लिएका हुन् । चार वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका जबराले भने 'सूचना चुहावट नगर्न' आफन्तलाई भनेका छन् । मिर्गौला फेरेका दुवै नेता अहिले महँगो औषधि सेवन गरिरहेका छन् । -
Source