विशेषज्ञ चिकित्सकबाट पहिले परीक्षण गर्नुहुँदैन
काठमाडौं, मंसिर १० - स्वास्थ्य समस्यालगतै पहिले कुन चिकित्सकबाट जँचाउने ? कुनै पनि सामान्य व्यक्तिलाई यो प्रश्नले सबैभन्दा पहिले अल्मल्याउने गर्छ । पछि उनीहरू परिवार वा छिमेकको अनुभवमा विशेषज्ञ चिकित्सककहाँ पुग्ने गर्छन् ।
नेपालको परिप्रेक्षमा विशेषज्ञ चिकित्सक भन्ना साथ मुटु, छाती, मृगौला, स्नायु, पेटलगायतका विशेषज्ञलाई लिने गरिएको छ । 'स्वास्थ्य समस्यापछि पहिलोपटक जाँच गर्ने विशेषज्ञ 'जनरल प्राक्टिसनर्स' हुन् भन्ने मान्यता यहाँ छैन,' त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, जेनरल प्राक्टिस र इमर्जेन्सी विभागका प्राध्यापक डा. प्रतापनारायण प्रसाद भन्छन् । विदेशमा भने पहिलोपटक सल्लाह दिने चिकित्सक 'जेनरल प्राक्टिसनर्स' नै रहेको उनले बताए ।
जेनरल प्राक्टिसनर्सको परीक्षण पछि थप जटिलता देखिए वा कुनै विशेषज्ञको उपचार आवश्यक भएमात्र रोगीलाई रेफर गर्ने प्रचलन छ ।
नेपालसमेत यस्ता चिकित्सकको संख्या सयको हाराहारीमा छ । त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, शिक्षण अस्पतालबाट जेनरल प्राक्टिसमा स्नातकोत्तर डिग्री हासिल गर्नेहरू १ सय १४ को हाराहारीमा छन् । यी विज्ञको दुई दिने सम्मेलन आइतबार सुरु भएको हो । जेनरल प्राक्टिसनर्स एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको सम्मेलनको मुख्य उद्देश्य स्वास्थ्य स्याहार प्रणालीमा जेनरल प्राक्टिसनर्स विशेषज्ञको भूमिका हो । सम्मेलनमा मुलुकभित्र र बाहिरका करिब २ सय विशेषज्ञ चिकित्सकको सहभागिता छ ।
'जेनरल प्राक्टिसनर्सहरू नै दुर्गम ठाउँमा ज्यान बचाउने काम गरिरहेका छन्,' त्रिवि शिक्षण अस्पताल एमडीजीपी कार्यक्रमका विभागीय प्रमुख डा. मनोहरप्रसाद गुप्ता भन्छन् । गरिब राष्ट्रमा १० वटा चिकित्सकको नजिक पुग्नुको सट्टा पहिले जेनरल प्राक्टिसनर्सकहाँ जानुपर्ने उल्लेख गर्दै डा. गुप्ता भन्छन्- 'जेनरल प्राक्टिसनर्सले आवश्यक ठानेमा रिफर गर्दामात्र अन्त जानु राम्रो ।'
नेपालको पहिले र हालको स्वास्थ्य सेवामा व्यापक फरक आएको उल्लेख गर्दै हुल योर्क मेडिकल स्कुल, बेलायतका प्रा.डा.पिटर क्याम्पियनले भने- 'जेनरल प्राक्टिसनर्स जहाँ-जहाँ छन्, नेपालको त्यस क्षेत्रको स्वास्थ्य सेवामा सुधार भएको छ ।' उनी एक दशकदेखि शिक्षण अस्पतालमा जेनरल प्राक्टिसनर्सका परीक्षकका रूपमा आउँदै गरेका हुन् । -
कान्तिपुर अतुल मिश्र