अन्तर्राष्ट्रिय गिरोहको निर्देशनमा आक्रमण कान्तिपुर
काठमाडौं, जेठ २९ - काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालका पि्रन्सिपल डा. हेमांग दीक्षित र डा. वीरवाहन जबरामाथि 'इन्टरनेसनल स्पाइडर ग्रुप' का गिरोहले फिरौती असुलीका लागि गोली प्रहार गर्न लगाएको खुलासा भएको छ । गिरोहको निर्देशनमा सक्रिय स्थानीय आपराधिक समूहले पुस ४ मा अस्पतालअघिल्तिर डा. वीरवाहन र वैशाख २१ मा नयाँ बानेश्वर हाइटमा डा. दीक्षितमाथि गोली प्रहार गरेका थिए ।
मलेसिया र सिंगापुरबाट उक्त गिरोहले दक्षिण एसियामा विशेष जालो फैलाएको प्रहरीले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान शाखाले अन्तर्राष्ट्रिय गिरोहको निर्देशनमा काम गर्ने नौै जनालाई राजधानीका विभिन्न स्थलबाट डेढ सातायता पक्राउ गरेको छ । तीमधये सात जना गोली प्रहारमा र दुई जना चन्दा असुलीमा संलग्न रहेको शाखाले जनाएको छ ।
शाखाका एसपी केशव अधिकारीका अनुसार गोली प्रहारमा संलग्न धनुषाका गणेश कार्की, झापा गौरीगन्जका सन्तोष खडका, गोरखा देउरालीका रामचन्द्र खनाल, मझुवा देउरालीका मानबहादुर कार्की, नाम्जुङका झलक बस्नेत, चितवन रत्ननगरका प्रकाश क्षेत्री र पञ्चकन्याका गणेशजंग घिमिरे संलग्न रहेको पाइएको छ ।
प्रहरीले अभियुक्त कार्कीबाट गोली प्रहारमा प्रयोग भएको बा९प २९१२ नम्बरको सीबीजेड मोटरसाइकल बरामद गरेको छ । अर्का अभियुक्त खडकाबाट ५० हजार नगद, छालाको दापसहितको छुरी, मोबाइल, चन्दा उठाउन प्रयोग गरेको बा११प २५४९ नम्बरको मोटरसाइकल र हेलमेट बरामद भएको छ ।
सोही गिरोहको इसारामा चन्दा असुलीमा संलग्न ओखलढुंगा गाम्नाङका होमबहादुर खत्री र उनकै भाइ जितबहादुरलाई पक्राउ गरिएको एसपी अधिकारीले बताए । होमबहादुरबाट प्रहरीले ५० हजार, चन्दा उठाउन प्रयोग भएको बा१०प ११५७ नम्बरको मोटरसाइकल र मोबाइल बरामद गरेको छ ।
अन्तर्राष्ट्रिय गिरोहका नाइके सिन्धुली कमलामाईका सन्दीप पाठक नाम बताउने ३१ वषर्ीय मिलन लामा, हतपते गाविसका आकाश केसी र माइस्थान बस्ने जोन भन्ने केदार श्रेष्ठ फरार रहेको उनले बताए ।
शाखाका अनुसार विगत डेढ वर्षदेखि आफूलाई 'इन्टरनेसनल स्पाइडर ग्रुप' का नाइके बताउने पाठकले अस्पतालमा पटकपटक फोन गरी करोडौं चन्दा माग्ने र नदिए ज्यान मार्ने धम्की दिँदै आएका थिए ।
पाठकको मुख्य रूपले सिंगापुर र मलेसियामा आवतजावत छ । प्रहरीका अनुसार पाठकको अन्डरवल्र्ड डन दाउद इब्राहिमसँग समेत नजिकको सम्बन्ध छ । हाल नयाँदिल्ली रहेका पाठकबारे इन्टरपोलमार्फत भारतीय प्रहरीलाई जानकारी गराइएको एसपी अधिकारीले बताए ।
उक्त समूहले राजधानीमा सुराकी गर्ने, चन्दा उठाउने र हतियार चलाउने अलग अलग आपराधिक समूह सञ्चालन गरेको प्रहरीले जनाएको छ ।
एक समूहबारे अर्को समूहलाई जानकारी नदिई पाठकले विदेशमा बसेर चन्दा असुली धन्दा चलाएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
पक्राउ परेकाहरूले एकअर्कालाई नचिने पनि कोड र संकेतका आधारमा काम गर्दै आएको बताएका छन् । उठाइएको रकमको ५ देखि २५ प्रतिशत आफूहरूलेे पाउने गरेको अभियुक्तहरूले कान्तिपुरलाई बताए ।
एक महिनादेखि उपत्यकामा सक्रिय पाठकको निर्देशनमा सञ्चालित समूह विभिन्न मेडिकल कलेज, संघसंस्था तथा म्यानपावर कम्पनीसँग अवैध चन्दा माग गनर्ेे कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
विभिन्न पीडित पक्षले प्रहरीमा दिएको सूचनाका आधारमा उक्त गिरोहले हालसम्म राजधानीबाट मात्र ५० करोड ७७ लाख रुपैयाँ संकलन गरेको देखिएको छ । ज्यान जाने डरले पीडित आधाभन्दा बढीले प्रहरीसमक्ष आउन नचाहेको अनुसन्धानबाट खुलेको छ ।