| Diarrhoea - पखालाका बिरामी बढे -
27-05-2006, 10:40 PM
पखालाका बिरामी बढे जीवनजल पनि छैन
बाँके, जेठ १३ - बढ्दो गर्मीसँगै बाँकेका गाउँहरूमा झाडापखालाका बिरामी बढेका छन् । नेपालगन्जका दुई ठूला अस्पतालमा दैनिक एक दर्जनभन्दा बढी उपचारार्थ भर्ना हुने गरेका छन् । एकजनाको मृत्युसमेत भएको छ ।
नगरसँग जोडिएको इन्द्रपुर गाविसस्थित कर्मोना गाउँका एक १२ वषर्ीय बालकको उपचार गर्न ल्याउने क्रममा मृत्यु भएको हो । अस्पतालका आपत्कालीन कक्षमा बिरामीको चाप बढेको छ । नेपालगन्ज शिक्षण अस्पतालका स्वास्थ्यकर्मी अर्जुन शाहका अनुसार दैनिक दर्जनौ झाडापखलाका बिरामी आउने गरेका छन् ।
भेरी अञ्चल अस्पतालमा पनि बिरामीको चाप बढी छ । सरकारी अस्पताल र स्वास्थ्य संस्थामा निःशुल्क वितरण गरिने पुनर्जलीय जीवनजल सकिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । 'निःशुल्क वितरण हुने जीवनजल बढी खपतले सकियो,' जनस्वास्थ्यका एक कर्मचारीले भने ।
बाँकेका ४७ वटै सरकारी स्वास्थ्य संस्थामा साढे दुई महिनायता जीवनजलको अभाव छ । जनस्वास्थ्यका निमित्त प्रशासक रामप्रसाद कुमालले केन्द्रबाट नै जीवनजल नपठाएकाले अभाव भएको बताएका छन् । 'माग भइरहेको छ तर पठाइएको छैन,' उनले भने ।
Last edited by Pal : 27-05-2006 at 10:44 PM.
|