शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनी क्षेत्रको कपिलबस्तुमा भएको हिंसात्मक घटनाका प्रत्यक्षदर्शी तथा पीडितहरू उक्त घटनालाई विर्सनै नसकिने तितो र दुःखदायी घटना भएको बताउँछन् । सामान्य व्यापार व्यवसाय गरेर परिवारका लागि रोजीरोटी खर्च जुटाउने श्रीमान्को हत्यापछि सहाराविहीन बन्न पुगेकी तुलसरी सुनार आफ्नो आँखा अगाडि नै श्रीमान्को हत्या भएको पीडादायक घटना सुनाउँदै भन्नुहुन्छ- "त्यो दुःखद घटना म कहिल्यै पनि विर्सन सक्दिनँ ।" ससाना दर्ुइ छोरा र चार छोरी गरी छ सन्तानकी आमा सुनार श्रीमान्को हत्या किन भयो - त्यो कुरामा अझै पनि अनभिज्ञ हुनुहुन्छ । 'बिहान स-परिवार मिलेर मासुभात पकाइरहेको समयमा एक्कासी १५/ २० जनाको समूहले श्रीमान्लाई कुटीकुटी मारे' बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा तुलसरीले घटनाको विवरण रुँदै सुनाउनुभयो । मेरो त कोही छैन, श्रीमान् र देवर दुवै जनालाई मारिदिए । देवरानीको पनि इज्जत लुटियो, म के गरुँ - यी बालबच्चा लिएर कहाँ जाने हो - रुँदै तुलसरीले भगवान् बुद्धलाई प्रहार गर्दै भन्नुभयो- त्रि्रो जन्मभूमिमा यस्तो अपराध गर्ने को हो - त्यस्तै, घटनाका प्रत्यक्षदर्शी बिनु थापालाई आफ्नै अगाडि दाजुभाइलाई जिउँदै जलाएको घटनाले निकै पीडित बनाएको छ । सुरुमा घर तथा सामानमा आगो लगाउने त्यसपछि मान्छेलाई काटेर आगोमा फाल्ने आतङ्ककारी समूहका कारण आफू टुहुरी बन्न पुगेकेा उहाँ बताउनुहुन्छ । घरेलु हतियार खुकुरी, खुँडा, लाठी र बन्दुक बोकेर आएका अपराधीहरूले सुरुमा पुरुषमाथि आक्रमण गर्ने, त्यसपछि महिलालाई बलात्कार गरी घाइते तुल्याउने र अन्त्यमा पैसा गरगहना लुटेर लुगाकपडा र अनाजमा आगो लगाइदिने जस्ता घृणित काम गरेको उहाँले सुनाउनुभयो ।
घटना भएको १० दिन बितिसक्दा पनि सरकारले अपराधीलाई कारबाही गर्न कुनै चासो नदेखाएको आरोप लगाउँदै पीडित थापाले भन्नुभयो- "घर अझै पनि जलिरहेका छन् र मृतकका लाशहरू अझै पनि विभिन्न ठाउँमा फेला पर्नेक्रम जारी छ भने वेपत्ताहरूको कुनै लेखाजोखा हुन सकेको छैन । पीडितहरूका अनुसार चनौटा, कृष्णनगर, विषनपुर, पत्थरदैया, खुरहुरिया, गणेशपुर र जवाभरीलगायतका क्षेत्रको वातावरण अझै पनि शान्त हुन सकेको छैन ।ऊखु धारीभित्र लुकेर ज्यान जोगाउनेहरू समेत खुलारूपले बाहिर आउन सकेका छैनन् । लुटपाट र आगजनीबाट करिब छ सय घर, दर्ुइ सय पसल र एक सय ६० भन्दा बढी गाडीहरू क्षति भएको बताइएको छ ।
पत्रकार सम्मेलनमा सहभागी अधिकांश हिंसापीडितहरूले सरकारले विस्थापितहरूका लागि पुनःस्थापनाको व्यवस्था नगरेको र घटनाको बारेमा अझैसम्म तथ्य जानकारी बाहिर ल्याउन नसकेको दुखेसो व्यक्त गरे । उनीहरूले सरकारसँग शान्तिसुरक्षाका साथै गाँसबाँस र क्षतिपर्ूर्ति उपलब्ध गराउन माग गरेका छन् ।
-
Source