नयाँदिल्ली, असोज १६ - केन्द्रीय सूचना तथा प्रकाशन मन्त्रालयले गोर्खा समुदायको अपमान गर्ने रेड एफएमविरुद्ध सात दिने प्रतिबन्ध लगाएको छ । प्रसारण अदालतले तत्काल निर्णय कार्यान्वयन नगर्न सरकारलाई आग्रह गरेको छ ।
सूचना तथा प्रकाशनमन्त्री पि्रयरन्जन दासमुन्सीले एफएमविरुद्ध सात दिने प्रतिबन्धका लागि सिफारिस गरेको जानकारी मंगलबार दिएका हुन् । गोर्खा समुदायको अपमान गर्ने अभिव्यक्ति दिएको एक सातापछि मन्त्रालयले आइतबार दिल्लीस्थित उक्त एफएमविरुद्ध 'कारबाही किन नगर्ने' भन्दै कारण देखाउ आदेश जारी गरेको थियो ।
आरोपित रेड एफएमले लगत्तै आफूलाई सफाइ पेस गर्न २४ घन्टाको छोटो समय दिएको भन्दै प्रसारण अदालतमा अपिल गरेको थियो । अनुमतिपत्र सम्झौता अनुसार उक्त च्यानललाई सफाइ पेस गर्न १५ दिनको समय दिनुपर्छ ।
'हामीले जातीय सद्भाव खलल पार्ने र हिंसालाई बढावा दिने अभिव्यक्ति दिने च्यानललाई सात दिने प्रतिबन्धको सिफारिस गरेका छौं' मुन्सीले भने ।
प्रसारण अदालतले बुधबार यसमा अन्तिम निर्णय सुनाउनेछ । दस दिनअघि सेप्टेम्बर २४ का प्रसारित एक कार्यक्रममा रेडियो जकीले प्रशान्त तामाङ इन्डिन आइडल भएको सन्दर्भ उल्लेख गर्दै गोर्खा समुदायविरुद्ध अपमानजनक अभिव्यक्ति दिएका दिए । तत्कालै सिलिगुडी, दार्जिलिङ र सिक्किम लगायतका क्षेत्रमा गोर्खा समुदायद्वारा विरोध सुरु गरिएको थियो ।
Source