दिल्लीमा नेपाली चौकीदारको रहस्यमय मृत्यु
भारतको राजधानी नयाँ दिल्लीमा एक जना नेपाली चौकीदारको रहस्यमय मृत्यु भएको छ। मृतक नेपालको रामेछाप जिल्लाको सुनारपानी गाबिस-७ का करीव ६५ बर्षीय दिर्घबहादुर कार्की भएको खुल्न आएको दिल्लीस्थित परेवा प्रतिनिधि रेवती सापकोटाले सम्प्रेषण गरेको समाचारमा जनाइएको छ।
कार्की १५ दिनदेखि दिल्लीको युसुफसरायको ग्रीनपार्क स्थित गंगा अटोमोबाईलमा चौकीदारीको रुपमा काम गर्दै आएका थिए । मारुती कम्पनीको गंगा अटोमोवाईले सरकारी राजस्व छलेको भनी प्रहरीले बन्द गरिदिएपछि कार्की र उत्तर प्रदेशका राजेन्द्र सिंहलाई चौकीदारको रुपमा सुरक्षा गर्न सो कम्पनीले उनीहरुलाई काम दिएको प्रहरीले बताएको छ।
ग्रीनपार्क प्रहरी थानाका अनुसार बुधवार दिउसोदेखि नै कार्कीले रक्सी सेवन गरेका थिए र अचानक साँझ हृदयघात भएपछि कार्कीका साथी राजेन्द्र सिंह र बिनोद नाम गरेको चिया पसलेले अस्पताल पुरयाएका थिए। अस्पताल पुग्नासाथ चिकित्सकले मृतक घोषणा गरिदिएको प्रहरीले बताएको छ । कार्की सो अटोमोवाईलमा राती आठ बजेदेखि बिहान ८ बजेसम्म डयुटी गर्थे भने राजेन्द्र बिहान ८ बजेदेखि राती ८ बजेसम्म डयुटी गर्थे।
सो थानाका प्रहरी प्रमुख दीप चन्द कार्कीलाई इमान्दार चौकीदारको रुपमा चिन्छन। चन्दका अनुसार कार्की मृत्यु भएको जानकारी उनका आफन्तहरुलाई काठमाडौमा गरिसकिएको छ।
नेपाली चौकीदार श्रमिक समितिले उनको मृत्युलाई रहस्यमय भनेको छ र सो संगठनले कार्कीको मृत्युको बारेमा खोजी अभियान शुरु गरिसकेको समितिका सल्लाहकार बालाराम नेपालीले बताउनुभयो। दिल्लीमा यसरी नेपाली चौकीदारको रहरस्यमय मृत्यु भएको यो पहिलो घटना भने होइन।
बेलाबखत भईरहने यस्ता घटनाको खासै खोजी हुने गरेको छैन। दिल्लीमा मात्र करीव २५ हजार नेपालीहरु चौकीदारको रुपमा काम गर्छन।
18 Jan, 2006
www.parewa.com