शरीरमा प्रतिकूल असर पर्नासाथ कतिपय व्यक्तिहरु भित्री अंगमा देखा पर्ने एलर्जीबाट दैनिकरुपमा पीडित बन्ने गरेका हुन्छन् । यस्ता समस्याबाट मुक्त हुने उपायबारे जानकारी नहुँदा एउटै किसिमको एलर्जी बारम्बार दोहोरिने गरेको हुन्छ ।साँझ सुत्दा केही नभएको व्यक्तिमा बिहान उठ्दा एलर्जी देखा पर्न सक्छ । घरमा खाना खाई अफिसमा पुग्दा नपुग्दै कसैलाई एलर्जी भइसकेको हुन सक्छ ।
किन हुन्छ एलर्जी ?
शरीरसँग कुनै किसिमको पदार्थको सम्पर्क हुँदा नकारात्मक प्रतिक्रिया देखा पर्नुलाई एलर्जी भनिन्छ । छातीरोग तथा एलर्जी विशेषज्ञ डा. दीर्घसिंह बमका अनुसार हाम्रो जीउले लिन नचाहने बाह्य तत्त्व शरीरमा प्रवेश गर्न खोज्यो भने त्यस अवस्थामा प्रतिक्रिया हुन्छ र नयाँ चीज उत्पन्न हुन्छ । यसलाई एलर्जीको रुपमा लिने गरिन्छ । कुनै चीज छोयो वा औषधि खायो भने जीउ चिलाउन सक्छ । छालामा डाबर वा फोका आउन सक्छ । धेरै पटक हाँच्छिउँ आउनु पनि एलर्जी नै हो ।
डा. बम भन्नुहुन्छ- ँशरीरमा धूवाँ, धूलो प्रवेश गर्यो भने हाच्छिउँ आउँछ । शरीरको प्रतिरक्षा गर्ने संयन्त्र हाच्छिउँ हो, जुन कुनै किसिमको एलर्जी भएर हुन्छ ।� जाडोको बेलामा चिसो भएर हाच्छिउँ आउनुलाई चिकित्सकहरु ँकोल्ड एलर्जी� भन्ने गर्छन् । शरीरमा कुन किसिमको एलर्जी गराउने तत्त्व -एलर्जेन) प्रवेश गरेको हो, त्यही प्रकारको एलर्जी देखा पर्छ ।
कुन पदार्थले एलर्जी हुन्छ ?
खाद्य पदार्थले मात्र नभएर बाहिरी वातावरणले पनि एलर्जी गराउन सक्छ । पिँडालु खाँदा कोक्याउनु पनि एलर्जी हो । खानेकुरा खाएर दिसा लागिरह्यो भने त्यसलाई पनि एलर्जी भनिने डा. बम बताउनुहुन्छ । वाकवाक लाग्ने, खाना खानै मन नलाग्ने, खाए पाचन नै नहुने अवस्थालाई ँफुड एलर्जी� भनिन्छ ।
कसैलाई गाईको दूध, माछा, अण्डा, आदि खाद्य पदार्थले एलर्जी गराउन सक्छ । त्यस्तै कसैलाई धूलो, धूवाँ, फूलको परागकण, चामल वा अन्य अनाजको धूलो, धान, गहुँको बाला वा पाल्तु जनावरसँगको सम्पर्कबाट पनि एलर्जी हुन्छ । शरीरको बाहिर प्रयोग हुने वस्तुले पनि एलर्जी गराउँछ । नाइलनको कपडा, लिपिस्टिक, प्लास्टिक तथा रबरको चप्पल, ऊनी कम्बल, सिन्दुर, नेल पालिस तथा औषधिले पनि एलर्जी हुन सक्छ ।
प्राकृतिक चिकित्सक डा. प्रमोद गौतम शरीरको प्राकृतिक स्वरुपसँग मेल खान गाह्रो हुने अप्राकृतिक पदार्थले एलर्जी गराउने बताउनुहुन्छ । त्यसबाहेक आजभोलि मानिसले नकारात्मक कुराहरु सोच्ने, बोल्ने र गर्ने कार्य दोहोर्याउनु पनि मस्तिष्कको एलर्जी भएको धारणा उहाँको छ । डा. बमका अनुसार जुनसुकै उमेरमा जोसुकैलाई सताउने एलर्जीले प्रतिरोधात्मक क्षमता न्यून भएकालाई बारम्बार पीडा दिन्छ ।
भित्री अंगमा पनि एलर्जी हुन्छ
बाहिर छालामा कुनै डाबर, फोका वा बिमिराहरु देखा परे भने आमरुपमा एलर्जी भएको भन्ने गरिन्छ । यस्तैगरी भित्री अंगमा पनि विभिन्न किसिमका एलर्जी भइरहेको हुन्छ । डा. बमका अनुसार एलर्जीका कारण कतिपय व्यक्ति दम (Bronchial Asthama) बाट पीडित भइरहेका छन् । कतिपयलाई एलर्जी भएर घाँटीमा असरसमेत गर्छ । शिक्षण अस्पताल महाराजगन्जका अडियोलोजिस्ट एवम् स्पिच ल्याङ्ग्वेज प्याथोलोजिस्ट कविराज खनालका अनुसार श्वासनलीमा एलर्जी भयो भने घाँटीमा असर पुग्ने, घाँटी खसखस हुने, स्वर बिग्रने आदि समस्या उत्पन्न हुन्छ । साथै स्वरयन्त्रमा असर पुग्छ ।
एलर्जी छाला चिलाउने, राता दाना देखा पर्ने आदि लक्षण देखा पर्नुका साथै नाक, फोक्सोमा समेत असर गर्ने हुन्छ । त्यस्तै पेट दुख्ने, बान्ता हुने, पेट फुल्ने, कब्जियत हुने पनि हुन्छ । त्यस्तै मस्तिष्क एवम् स्नायुरोग सम्बन्धित माइग्रेन हुने, नसामा दबाब हुने सम्बन्धित चिकित्सकहरु बताउँछन् । अधिकांश रोगहरुको प्रारम्भिक चरण कुनै न कुनै किसिमको एलर्जी प्रमुख कारक हुने गर्छ ।
एलर्जीबाट कसरी बच्ने ?
एलर्जीबाट बच्ने सबैभन्दा राम्रो उपाय आफूलाई के गर्दा एलर्जी भएको हो, त्यो स्वयम् थाहा पाउनु र त्यसबाट जोगिनु हो । पहिलो पटक एलर्जी भएको छ भने त्यसको कारण थाहा पाउनु अत्यन्तै जरुरी हुन्छ । जसबाट चिकित्सकसँगै रोगी दुवैलाई एलर्जी पहिचान गर्न सजिलो हुन्छ ।
घरभित्रको धूलो, गन्ध आदिका कारण पनि एलर्जी हुने भएकोले घरभित्रको वातावरण सफा राख्नुपर्छ । सुत्ने बिच्छ्यौनाका कारण पनि एलर्जी हुने भएकोले बिच्छ्यौनालाई सफा कपडा वा च्यादरले ढाकेर राख्ने गर्नुपर्छ । आफू र आफ्नो वरिपरिको वातावरण सफा, स्वच्छ भएमा एलर्जीबाट बच्न सकिन्छ । एलर्जीको जाँच छालाको परीक्षणबाट नै हुने गर्छ । यसबाहेक इम्युनोथेरापी लगायत पद्धतिबाट जाँच गरी एलर्जी गराउने तत्त्व एलर्जेन पत्ता लगाई एलर्जीबाट छुटकारा पाउन सकिन्छ ।

बिहान उठ्दा एलर्जी भएको छ भने बिच्छ्यौना फोहोर भएको वा कुनै कीरा बसेको हुन सक्छ । राति कीराले टोकेको छ भने पनि बिहान एलर्जीको लक्षण देखिन सक्छ । यसबाहेक बच्चाले पिसाब फेरेको छ र सफा गरिएको छैन भने त्यस्तो बिच्छ्यौनामा बस्दा, सुत्दा एलर्जी हुन सक्छ । त्यसैले घरको कोठा, बिच्छ्यौना, कोठामा सजावटका लागि राखिएका वस्तुहरु बारम्बार सफा गरिराख्नुपर्छ । त्यस्तै कसैलाई शौचालयबाट फर्कदा एलर्जी हुन सक्छ । शौचालय फोहोर भएर त्यसको गन्धले पनि कसैलाई एलर्जी हुन सक्छ । शौचालयमा झुन्ड्याइएका रुमाललगायत अन्य वस्तुहरुमा कीरा बसेको वा फोहोर गरेको रहेछ भने त्यस्तो वस्तु प्रयोग गर्दा पनि एलर्जी हुन सक्छ । कपडा सफा गरेर राख्दा र पुनः लगाउँदा ख्याल गर्नु जरुरी हुन्छ ।
अफिस वा अन्यत्र जाने क्रममा बाहिरी धूलो, मोटरगाडीको धूवाँ वा फोहोरको दुर्गन्धले पनि एलर्जी हुन सक्छ । यस्तो अवस्थामा कसैलाई तत्कालै बान्ता हुन सक्छ भने कसैलाई रिंगटा लाग्ने हुन्छ । त्यसैले बाहिर निस्कँदा मास्कको प्रयोग गर्नुपर्छ । मास्क फोहोर भयो भने त्यसबाट पनि एलर्जी हुन सक्ने भएकोले बारम्बार सफा गर्नुपर्छ ।
यसैगरी खाद्य पदार्थबाट पनि एलर्जी हुन सक्छ । चिसो पानीका कारण एलर्जी भएको हो भने पानी उमालेर पिउनुपर्छ । त्यस्तै कोल्ड एलर्जीबाट बच्न न्यानो कपडा लगाएर हिँड्डुल गर्नुपर्छ । यसबाहेक बजारमा पाइने फास्टफुड, सडकमा बेच्न राखिएका खाद्यपदार्थभन्दा सफा र स्वच्छ खानेकुरा खाने गरे एलर्जीबाट बच्न सकिन्छ ।