शिक्षण अस्पताल र नेपाली राजनीति
प्राडा अरुण सायमी
त्रिवि शिक्षण अस्पताल जन्मेको पच्चीस वर्ष पुगेको छ । पच्चीस वर्ष अगाडि जापानी जनताले नेपाली जनतालाई उपहारस्वरूप प्रदान गरेको यो अस्पताल जापान सरकारको जाईका अन्तर्गत सञ्चालित परियोजनामध्ये एसियामा सबभन्दा सफल आयोजना मानिन्छ । यसलाई नेपालको सबभन्दा पुरानो, सुविधायुक्त र जनपि्रय शिक्षण अस्पताल भन्दा दुई मत नहोला । यसले नेपालको चिकित्सामा मात्र नभई राजनीतिक क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।
०४६ सालको जनआन्दोलनमा शिक्षण अस्पतालले खेलेकोे भूमिका अविस्मरणीय छ । त्यसताका राजनीतिक पार्टीका नेता कोही जेलमा, कोही भूमिगत र कोही अस्पतालमा थिए । जनआन्दोलनलाई चुलीमा पुर्*याउन शिक्षण अस्पतालले ऐतिहासिक भूमिका निभाएको थियो । पञ्चायती क्रूर दमनविरुद्ध शिक्षण अस्पतालका सारा चिकित्साकर्मी र कर्मचारी सेतो एप्रोन लगाएर सडकमा ओर्लिएका थिए । कीर्तिपुरमा सहिद भएका लनबहादुर र अन्य सहिदको लाश पोस्टमार्टमपछि प्रहरीले जबर्जस्ती लानखोज्दा निरंकुश पञ्चायती प्रहरीको विरोधमा सारा शिक्षण अस्पताल परिवार उत्रेको थियो ।
०४६ चैत २४ गतेे अझै याद छ, अस्पतालको बसमा बसेर सारा काठमाडौं सहर घुम्दै पञ्चायत र राजतन्त्रको विरोधमा नारा लगाएर गएको । सहिदगेट पुगेर शिक्षण अस्पताल परिवार लाखौं जनताको जुलुसमा समावेश भएको । जुलुसमा कोही नेता थिएनन् । पछि खुलामञ्च पुगेर जुलुसको नेतृत्व चिकित्सकले गरेका थिए । कोही नेता नभएकाले डा मथुरा श्रेष्ठलाई जुलुस सम्बोधन गर्न लगाएको थियो । डा शशांक कोइराला र मलाई वीर अस्पताल भर्ना भएका सर्वमान्य नेता गणेशमान सिंह र मनमोहन अधिकारीलाई बोलाउन पठाइएको थियो । अझै मलाई याद छ, गणेशमान सिंह र मनमोहन अधिकारीलाई वीर अस्पतालको छानाबाट जनतालाई अभिवादन गराएपछि तितरबितर भएको जुलुसलाई प्रहरी र सेनाले अन्धाधुन्द गोली चलाएको । त्यस घटनापछि वीर अस्पतालमा लाश देखेर आक्रोशित मुद्रामा दरबारतिर औंला देखाउदै डा शशांक कोइरालाले भनेका थिए, 'दिस ब्लडी किङ ह्याज नो राइट टु किल इनोसेन्ट पिपुल ।'
०४६ सालको जनआन्दोलनको सफलतापछि शिक्षण अस्पतालमा नेता ओइरिन थाले । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पटक-पटक यहाँ भर्ना हुन आउनुभएको थियो । संसदमा भाषण दिँदादिँदै ढलेका प्रधानमन्त्रीलाई नजिकको वीर अस्पतालमा लानखोज्दा आफ्नो इच्छाले शिक्षण अस्पताल आउनुभयो । त्यसैगरी मनमोहन अधिकारीको जीवनका धेरै महत्त्वपूर्ण घटना यसै अस्पतालमा भए । हेलिकप्टर दुर्घटनापछि उहाँको उपचार यसै अस्पतालमा गरियो । त्यसताका यस अस्पतालको क्याबिन नं ६०१ मा नै मन्त्रीमण्डलका थुप्रै बैठक भए । यस अस्पतालको शैयाबाट नै मनमोहन अधिकारीले संसदलाई ऐतिहासिक सम्बोधन गर्नुभएको थियो । एउटा बिरामी प्रधानमन्त्रीले अस्पताल शैयाबाट संसदलाई सम्बोधन गरेको विश्व इतिहासमा नै पहिलो थियो होला । यस भावुक सम्बोधनलाई टेलिभिजनका पर्दामा हेरेर धेरै नेपालीले आँसु बगाएका थिए । चुनावी प्रचार-प्रसार कार्यक्रममा बेहोस भएर ल्याइएका मनमोहन अधिकारीका अन्तिम दिनहरु पनि यहीं बितेका थिए । ०५३ साल वैशाख १२ गते यसै अस्पतालमा दिवंगत हुनुभएका मनमोहन अधिकारीको स्मृतिमा अस्पतालको हाताभित्र मनमोहन कार्डियो थ्योरासिक केन्द्रको निर्माण भइरहेछ । स्वर्गीय नेता वीपी कोइरालाको स्मृतिमा छुट्टै आँखा उपचार केन्द्र यसै अस्पताल अन्तर्गत सञ्चालित छ । त्यस्तै स्वर्गीय सर्वमान्य नेता गणेशमान सिंहको सम्झनामा गणेशमान इएनटी प्रतिष्ठान पनि शिक्षण अस्पताल अन्तर्गत नै सञ्चालित छ । यी सबै कुराले गर्दा पनि राजनीतिक रूपमा त्रिवि शिक्षण अस्पताल गरिमामय अस्पतालको रूपमा रहेको छ ।
०६२-६३ सालको जनआन्दोलनका बेला शिक्षण अस्पतालले निभाएको भूमिका ऐतिहासिक छ । प्रत्येक दिन शिक्षण अस्पतालको प्राङ्गणमा भेला भएर यहाँका चिकित्साकर्मी, कर्मचारी र विद्यार्थीले ज्ञानेन्द्र र उनको नेतृत्वमा गठित सरकार विरुद्ध बुलन्द आवाज उठाएका थिए । अस्पतालका कर्मचारीले कहिले दिउसै मैनबत्ती बाले त कहिले उल्टोबाट हिँडेर, कहिले सेतो एप्रोनमा रगतका राता टाटा बनाएर जनताको रगत बगेको संकेत गर्दै विरोध प्रदर्शन जारी राखेका थिए । आन्दोलन चर्किरहेका बेला अस्पतालको एम्बुलेन्स लिएर चिकित्साकर्मी गोंगबु, कलंकी पुगेर सयौं घाइतेको निःशुल्क उपचार गरिरहेका थिए । त्यस्तै यहाँका चिकित्सक र कर्मचारीको सक्रियतामा जनआन्दोलनका घाइते उपचारका लागि कोष खडा गरी धेरै घाइतेको निःशुल्क उपचार गरियो ।
त्यसबेला शिक्षण अस्पतालको अगुवाइमा सारा चिकित्सा क्षेत्र नै आन्दोलनमा होमियो । तत्कालीन नेपाल मेडिकल एसोसियसनका महासचिव किरण श्रेष्ठले टेलिफोनमा भनेका कुरा अझै याद छ- मेडिकल एसोसियसन कछुवाको चालमा छ, तपाईंहरू घोडाको चालमा हिँड्नुभएको छ । त्यसबेला मैले राजाका विरुद्ध कडा भाषण दिएपछि मेरा दाइ डा प्रकाश सायमीले भन्नुभयो- राजा ज्ञानेन्द्रले सैनिक शासन लगाए सबैभन्दा पहिला तिमीलाई फाँसीमा झुन्ड्याइनेछ ।
जनआन्दोलनको सिलसिलामा शिक्षण अस्पतालका धेरै डाक्टर, नर्स र विद्यार्थीहरू जेल पर्न थाले । विरोध प्रदर्शनको सिलसिलामा डा महेश मास्के, डा शरद वन्त, सहायक डिन भरत झा आदिलाई जेल चलान गरियो । शिक्षण अस्पतालका मेडिकलका विद्यार्थीले पनि जनआन्दोलन ०६२-६३ लाई साथ दिएका थिए । विद्यार्थीको क्रान्तिकारी गतिविधि देखेर ज्ञानेन्द्रको कठपुतली सरकारले मध्यरातमा सेना र प्रहरी छात्रावासमा पठाएर कुटपिट र अपहरणजस्ता दमन गर्*यो । त्यसबेला प्रहरीले छात्रावासमा कुटेर घाइते बनाएका विद्यार्थीले आफ्नो रगतले छात्रावासको भित्तामा लेखेका थिए- यो हाम्रो रगत होइन, राजतन्त्रको अन्त्य हो ।
अहिले देशबाट राजतन्त्रको अन्त्य हुनलागेको छ, तर अन्त्य भैसकेको छैन । जनआन्दोलनको सफलतापछि नयाँ नेपाल निर्माण गर्न धेरै चुनाती पनि देखिएका छन् । विद्यार्थीले आफ्नो रगतले भित्तामा लेखेका टाटा सुक्न नपाउँदै नेता राजतन्त्रको अन्त्य गर्नभन्दा शक्तिको भागबन्डामा बढी लागेका छन् । केही नेता कहिले सेरेमोनियल किङ, कहिले बेबी किङ भन्दै राजतन्त्रलाई जोगाउने खेल गर्दैछन् । केही नेता संकटको यस घडीमा संघीय गणतन्त्रको नमुना हेर्न स्वीट्जरल्यान्डको भ्रमणमा हिँडेका छन् । मलाई यी नेतालाई भन्न मनलागेको छ, सारा जनता गणतन्त्रको पक्षमा उभिएका बेला किन तपाईंहरूले सर्परूपी राजतन्त्रलाई त्याग्न नसकेको ? मलाई सोध्न मनलागेको छ- के स्वर्ग जाँदा पनि तपाईं राजतन्त्रलाई सँगै लिएर जानुहुन्छ ?
त्यस्तै अर्काथरी नेतालाई भन्न मनलागेको छ- आफ्ना जनसेना सुविधाविहीन अवस्थामा क्यान्टोनमेन्टमा कस्टकर जीवन बिताइरहेका बेला संघीय गणतन्त्रको नमुना हेर्न किन स्वीट्जरल्यान्ड जानुपर्ने ? यी घटनाले मेरो मनमा एक प्रकारको आक्रोश उठ्छ र भन्न मन लाग्छ, के त्यसो भए नेपाललाई स्वर्गजस्तो बनाउन तपाईंहरू स्वर्गको भ्रमणमा जानुहुन्छ ?
अन्त्यमा सबै नेताहरूलाई शिक्षण अस्पतालको २५ औं वाषिर्कोत्सवका अवसरमा खबरदारी गर्दै भन्न चाहन्छु- तपाईंहरूका लागि रोडम्याप क्रान्तिकारी विद्यार्थीले अस्पतालका भित्तामा आफ्नो रगतले लेखिसकेका छन् । यस रोडम्यापबाट एक इन्च पनि यताउता नगर्नुहोस् । यदि तपाईंहरूले बाटो विराउनुभयो भने फेरि शिक्षण अस्पतालका छात्रावासको भित्तामा तपाईंहरूको विरोधमा रगतले केही लेख्ने दिन आउन सक्छ ।
ki kaso?????
