रानीपोखरीमा ट्यांकरका ट्यांकर पानी खन्याइयो 
-जीतेन्द्र शाह/तस्बीरः विकास कार्की
गर्मी सुरुसँगै जलसतह घटेर माछा मर्न थालेपछि बौद्ध समुदायका महिलाले ट्यांकरका ट्यांकर पानी किनेर शनिबार (चैत १७ -२०६२) रानीपोखरीमा हालेका छन् । रानीपोखरीको जलस्तर करिब डेढ मिटर घटेको छ ।
गत वर्षभन्दा यसपटक पानी धेरै कम भएको स्थानीयवासी बताउँछन् । गर्मी सुरुसँगै रत्नपार्कस्थित रानीपोखरीमा पानीको सतह घट्छ ।
खडेरीले माछा मर्न थाले पनि संरक्षण जिम्मेवारी बोकेको महानगरपालिका भने दैनिक दुई ट्यांकर पानी खसालेर औपचारिकतामात्र पूरा गर्ने गरेको छ । बौद्घका महिलाले १७ ट्यांकर पानी किनेर खन्याएका हुन् । हरेक वर्ष चाडपर्वमा आफूले छाडेका माछाका भुरा र पक्षीले खडेरीले ज्यान नगुमाऊन् भनेर पानी हालेको यी बौद्ध धर्मावलम्बीहरूले बताए । ‘मान्छेले गर्मीमा जहाँबाट भए पनि पानी खान्छ, माछाले के गर्ने ?’ छोदेन लामाले भनिन् ।
रानीपोखरीका जलचर बचाउन २० जति महिलाले रकम जुटाई पानी हाल्न थालेको उनले बताइन् । दुई दिनमा ७० ट्यांकर पानी हाल्ने उनीहरूको लक्ष्य छ । त्यसका लागि करिब ७० हजार खर्च लाग्ने तेन्चिन लामाले बताइन् । ‘सुकिलो लुगामा समाज सेवाको भाषण दिने र डलरको खेती गर्नेलाई यी सामान्य महिलाले गरेको कामले पक्कै लाज लाग्ला,’ बालाजुका कृष्ण चौलागाईंले भने ।

त्यस क्षेत्रमा अधिकांशले ३५ फिट जमिनमुनिबाट पानी तान्ने गरेकाले सुख्खायाममा घटेको उनीहरूको दाबी छ । घरैपिच्छै बोरिङले गर्दा भूमिगत जलस्तरमा कमी आएकाले पोखरी गत वर्षभन्दा सुकेको हो । महानगरपालिकाले मेला र महोत्सवका नाउँमा रानीपोखरी भाडामा दिन थालेपछि प्रदूषणका कारण पनि समस्या आएको उनीहरू बताउँछन् । उनीहरूले रानीपोखरी क्षेत्रलाई प्रदूषणमुक्त क्षेत्र घोषणा गरिनुपर्ने माग राखेका छन् ।

करिब ६२ रोपनी क्षेत्रफल रहेको रानी पोखरी प्रताप मल्लले वि.स.१७२७ मा निर्माण गरेका हुन । सबै तीर्थको जल मिसाइएको यस पोखरीको चारै कुनामा गणेश भैरव महालक्ष्मी र दुर्गा तथा बीचमा शिवालय बनाइएको छ ।