| गाउँलेद्वारा स्वास्थ्यकेन्द्रमा ताला -
25-05-2007, 02:51 AM
सिन्धुली, जेठ १० - स्वास्थ्यकर्मी नबसेपछि बेलघारी गाविसको प्राथमिक स्वास्थ्य केन्द्रमा बुधबार गाउँलेले ताला लगाएका छन् । एक चिकित्सकसहित ११ जनाको दरबन्दी रहेको केन्द्रमा एकैजना स्वास्थ्यकर्मी पनि नबसेपछि उनीहरूले ताला लगाएका हुन् ।
स्थानीय शिक्ष्ाक पुरुषोत्तम दाहालका अनुसार स्वास्थ्यकर्मी नभएपछि केन्द्रको भवनमा पियनले ताला लगाएर हिंडेपछि स्थानीय बासिन्दा भेला भई मूल गेटमा नै ताला लगाइदिएका थिए । डाक्टरको दरबन्दी रिक्त रहे पनि अन्यले भने त्यही केन्द्रबाट नै तलव खाइरहेका छन् । केन्द्रका इन्चार्ज रामसुन्दर शाह एक महिनाअघि नै छोरीको विहेका लागि धनुषा गए पनि हालसम्म फर्किएका छैनन् भने सिनियर अहेव मदन दाहाल तालिममा काठमाडांै गएका छन् ।
सदरमुकामबाट करिब २५ किलोमिटर पूर्वमा रहेको बेलघारी प्राथमिक स्वास्थ्य केन्द्रमा वरपरका ६ गाविसका बासिन्दा आउँछन् । प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी नभएपछि लाम्पान्टार, मिनस्थान, लोथामखोला, जरायोटार, आम्बोटेका बासिन्दा स्थास्थ्य सेवाबाट बञ्चित भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी नबस्ने गुनासो पटकपटक स्वास्थ्य कार्यालयमा जाहेर गर्दा समेत सुनुवाइ नभएको पूर्वगाविस अध्यक्ष छत्र दाहाल बताउँछन् । उनी भन्छन्, भवन राम्रो छ तर स्वास्थ्यकर्मी नभएपछि विरामी त्यही भवन हेरेर र्फकन बाध्य छन् । यता जिल्ला स्वास्थ्य कार्यालयले भने बेलघारी प्राथमिक स्वास्थ्य केन्द्रमा भएको तालाबन्दी खुलाउन केन्द्रका इन्चार्ज शाहलाई झिकाएर पठाइसकेको जनाएको छ, तर बिहीबारसम्म इन्चार्ज शाह बेलघारी पुगेका छैनन् । बेलघारी प्राथमिक स्वास्थ्य केन्द्रको अलावा इलाका स्वास्थ्य कार्यालय, उपस्वास्थ्य चौकीमा समेत स्वास्थ्य कर्मी नभएको गुनासो गरेको छ । |