| डा. दीक्षितमाथि गोली हान्ने सात पक्राउ -
11-06-2006, 07:01 AM
जितेन्द्र साह
काठमाडौं, जेठ २७ - काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालका पि्रन्सिपल डा. हेमांग दीक्षितमाथि गोली प्रहार गर्ने समूहका सातजना पक्राउ परेका छन् । डा. दीक्षितमाथि गोली प्रहार गर्ने मुख्य अभियुक्त भने फरार छन् । खोजी कार्य भइरहेकाले नाम नखुलाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ सातै युवा र फरार युवक जुडो एवं कराँतेका अन्तर्राष्ट्रिय खेलाडी एवं भूपू सैनिक हुन् । एक महिनाअघि डा. दीक्षित आफन्तका घर आइरहेका बेला बानेश्वर हाइटमा गोली प्रहार भएको थियो । अस्पताल व्यवस्थापनसँग मागेको दुई करोड रुपैयाँ नपाएपछि आपराधिक समूहले दीक्षितमाथि गोली प्रहार गरेको थियो । उक्त समूह सिंगापुरबाट सञ्चालित एक आपराधिक गिरोहबाट निर्देशित रहेको अनुसन्धानबाट खुलेको छ ।
गिरोहका नाइके सन्दीप पाठक हाल नयाँदिल्लीमा लुकेर बसेको उपत्यका अपराध अनुसन्धान शाखाको दाबी छ । पाठकले राजधानीमा फिरौती असुलीका लागि स्थानीय युवाका आठ आपराधिक समूह गठन गरेको प्रहरीले जनाएको छ । यसबारे नेपाली सेनाले पनि छुट्टैै अनुसन्धान गरिरहेको स्रोतले बतायो ।
अस्पताल व्यवस्थापनलाई धम्क्याउने क्रममा साढे तीन महिनाअघि अस्पतालका चिकित्सक डा. बीबीएस राणामाथि पनि गोली प्रहार भएको थियो । चिकित्सकमाथि भएका शृंखलाबद्ध आक्रमण हुन थालेपछि सरकारले सुरक्षाकर्मी उपलब्ध गराएको छ ।
प्रहरीका अनुसार नयाँदिल्लीमा लुकेर बसेका सन्दीपबारे गृहमन्त्रालयमार्फत भारतलाई जानकारी गराई पक्राउ प्रक्रिया अघि बढाइनेछ ।
दाइ र भतिजको हत्यारा पक्राउ
यसैगरी सामाखुसीमा डेरा लिएर बसेका मासु व्यापारी भूगोल श्रेष्ठ र १२ वषर्ीय समीरको हत्या गरेको अभियोगमा अनिल बस्नेतलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अनिल भूगोलका भाइ हुन् । अनिलले मनमुटावका कारण बिहीबार मध्यराति दाइ र भतिजको गर्दन रेटेर हत्या गरेका थिए । हत्यापछि उनी गोरखा पुगेका थिए ।
अनिलले गाउँ पुगेर दाइ र भतिजलाई गुण्डाहरूले मारेको भ्रामक प्रचारसमेत गरेको प्रहरीले जनाएको छ । त्यहाँबाट शुक्रबार साँझ फर्केर आफैंले ताल्चा खोली दाइ र भतिजको कसैले हत्या गरेको भन्दै घरबेटी, छरछिमेक एवं प्रहरीलाई खबर गरेका थिए ।
आफन्तजनले सौतेलो भाइ अनिलको दाइ भूगोलसँग राम्रो सम्बन्ध नभएको प्रहरीलाई जानकारी दिएका थिए । त्यसपछि प्रहरीले हिरासतमा लिएर रातभरि सोधपुछ गरेपछि उसले आफैंले हत्या गरेको स्विकारेको हो ।
प्रेमिका हत्यारा अझै फरार
प्रेमिकाको हत्यामा संलग्न धादिङ धुवाकोट-१ का २३ वषर्ीय टीकाराम तामाङलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । तामाङले स्वयम्भू बस्ने प्रेमिका १९ वषर्ीया सिर्जना तामाङको शुक्रबार बिहान नयाँबजारस्थित पियुडी साइबर क्याफेभित्र हत्या गरेका थिए ।
उनी डेढ वर्षदेखि सोही क्याफेमा कार्यरत थिइन् । |